प्रभु क्यापिटलको डिजिटल मोबाइल एप सार्वजनिक


प्रभु क्यापिटलले सबै सेवाहरु एकै प्लेटफर्मबाट दिनेगरी मोबाइल एप लञ्च गरेको छ । आफ्ना सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ मोबाइल एप सञ्चालनमा ल्याएको क्यापिटलले जनाएको छ ।

मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्ननेछन् ।

मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि यो एपमा छ । मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको क्यापिटलले जनाएको छ ।

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यो एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सक्नेछन् । यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ्ग गरिएको र यसलाई विभिन्न चरणमा सुरक्षा जाँच तथा सुरक्षाको जोखिम परिक्षण पश्चात मात्रै सञ्चालनमा ल्याइएकाले सुरक्षित रहेको क्यापिटलको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।