रोकिएन सेयर बजार घट्ने क्रम, सूचकमा भारी गिरावट आउँदा कारोबार रकम पनि घट्यो


सेयर बजारमा आएको गिरावटले शुक्रबार पनि निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता सेयर किनबेचमा पर्ख र हेरको अवस्थामा बस्दा बजारमा गिरावट आएको हो ।

शुक्रबार बजार परिसुचक नेप्से ३४।७० अंकले घटेर १९९२.६२ अंकमा अडिएको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार १ अर्ब ८० करोड ६२ लाख रुपैंयाको सेयर किनबेच भएकोमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैंयाको कारोबार भएको छ ।

शुक्रबार २१७ कम्पनीको शेयर कारोबार भएकोमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । केही सामुहिक लगानी कोष, लघुवित्त तथा बीमा कम्पनीको शेयर मूल्यमा वृद्धि आए पनि सोही समुहका अरु सेयरको मूल्य घटेको छ । जसका कारण शुक्रबार सबै उपसमुहहरु घटेका छन् ।

जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा अधिक गिरावट आएको बजारमा उत्पादन कम्पनीसँगै वित्त तथा विकास बैंकहरुको सेयर मूल्य पनि घटेको छ ।

बजारमा आएको गिरावटसँगै समग्र बजार पूँजीकरण पनि ओरालो लागेको छ । बिहीबार २८ खर्ब ९१ अर्ब ४७ करोड रुपैंया रहेको पूँजीकरण शुक्रबार २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख रुपैंयामा झरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।