उत्पादनमा साना किसानलाई सबल बनाउनमा जोड


कृषि अर्थतन्त्र सुधारका लागि कृषि पेसामा आबद्ध साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिइएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ स्थापना दिवसमा आयोजित कार्यक्रमा राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा लगाउन विज्ञहरुले जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा साना किसानको योगदान रहेको चर्चा गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानलाई उद्यमसँग जोड्नुपर्ने तर्क गरे । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको जीवन रुपान्तरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे ।

समारोहमा लघुवित्तका सञ्चालक प्रताव सुवेदीले नेपालको गरिबी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको दाबी गरेका छन् । यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा लघुवित्त संस्थाले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

नेपालका ५४० स्थानीय तहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा कोइरालले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको भनाइ छ ।

उक्त अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, संस्थाले सर्वोत्कृष्ट संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था रघुनाथपुर, धनुषा, इलाका कार्यालय बनेपाअन्तर्गत उत्कृष्ट संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी र सर्वोत्कृष्ट इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।

साना किसान विकास आयोजनाका रुपमा २०३२ सालदेखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा एक हजार २९१ सहकारी संस्थाको सहभागिता छ । हाल संस्थाको सेवा ७६ जिल्लाका ५४० स्थानीय तहसम्म पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।