सौराहामा अपी पावरको १ मेगावाटको सौर्य आयोजना सञ्चालनमा


अपी पावर लिमिटेडले निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य आयोजना सञ्चालनमा आएको छ । निर्माण सुरु भएको ६ महिनामा सम्पन्न गरी कम्पनीले आयोजना सञ्चालनमा ल्याएको जनाएको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) ठेक्का प्रणालीमा ठेकेदार कुशल प्रोजेक्ट्स नेपाल प्रालिले उक्त आयोजना निर्माण गरेको हो । आयोजनाको वार्षिक बिजुली उत्पादन क्षमता प्रतिवर्गमिटर ४.९५ युनिट रहेको छ । औसत तापक्रम २५.३ डिग्री सेल्सियस र औसत वायु गति ३.२४ किलोमिटर प्रतिघन्टा हुँदा वार्षिक औसत विद्युत उत्पादन १६ लाख ३० युनिट हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुलीको दर प्रतियुनिट ७ रुपैंया ३० पैसा तोकिएको छ । यसको आधारमा आयोजनाले वार्षिक १ करोड १८ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

पर्सा जिल्लाको सिमरामा निर्मित सिमरा सौर्य आयोजनाको स्थापित १.२ मेगावाट डिसी क्षमता रहेको र प्राविधिकरूपमा २०.१ प्रतिशत दक्षताका लङ्गी ४५० डब्लूपी मोनो क्रिस्टलाइन मोड्युलका २ हजार ६८८ वटा सौर्य पाता उपयोग गरिएको छ । दक्षिणतर्फ फर्काएर राखिएको सौर्य प्यानलको प्रत्येक टेबलमा ५६ र २८ सौर्य प्यानलहरू राखिएको कम्पनीले जनाएको छ ।

उत्पादन भएको डिसी ऊर्जालाई एसीमा रूपान्तरण गर्न १.४ एमभिए क्षमताको एबिबी केन्द्रीय इन्भर्टर जडान गरिएको छ । ९८.६ प्रतिशत दक्षताको इन्भर्टरद्वारा उत्पादित ६९० भोल्ट एसी करेन्टलाई परिवर्तन गर्न थ्री फेजको १२५० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । यसबाट उत्पादित ६९० भोल्ट एसी करेन्टलाई ११ केभीमा रूपान्तरण गरिन्छ ।

ट्रान्सफार्मरबाट निस्किएको एसी ऊर्जा एबिबीको ११ केभी हाईटेन्सन भ्याकुम सर्किट ब्रेकरको माध्यमबाट २० मिटरको दूरीमा ट्यापिङ गरी ग्रिडमा जोडिएको छ ।

यो आयोजनाले स्वच्छ र हरित ऊर्जा उत्पादनमात्र नगरी, राष्ट्रिय ग्रिडमा सकारात्मक योगदान पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास कम्पनीले लिएको छ । आयोजना निर्माणमा २०० भन्दा बढी स्थानीयले श्रमदान गरको जनाएको कम्पनीले सो क्षेत्रका स्थानीय तथा कृषकहरूले राम्रो गुणस्तरीय र स्थिर भोल्टेजको बिजुली सुविधा पाउने अपेक्षा गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।