व्याज तथा करको चटारो घटेसँगै सेयर बजारमा दोहोरो अंकको सुधार


मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आर्थिक वर्षको समाप्ति नजिकिँदै गर्दा कर तथा व्याज तिर्ने क्रम पनि अन्तिम अवस्थामा पुगेसँगै बजारमा सुधार देखिएको हो ।

सोमबार ७७.०१ अंकले घटेको बजार मंगलबार ११.६८ अंकले सुधारिएको हो । योसँगै बजार परिसुचक नेप्से १९२७.२८ अंकमा उक्लिएको छ । बजार खुलेदेखि तिब्र उतारचढावका बिच १९०९ अंकसम्म झरेर १९४६ अंकसम्म उक्लिएको बजार उतारचढावका बिच १९२७.२८ अंकमा अडिएको हो ।

बजार सुधार भए पनि कारोबार रकममा भने फरकिलो अन्तरको गिरावट आएको छ । सोमबार २ अर्ब ३२ करोड ५६ लाख रुपैंयाको सेयर किनबेच भएकोमा मंगलबार १ अर्ब ७ करोड ७७ लाख रुपैंयाको कारोबार भएको छ ।

सबै उपसमुहमा सुधार देखिएको बजारमा साना तथा मझौला कम्पनीहरुको सेयर मूल्य धेरै बढेको छ । सप्तकोशी डेभलपमेण्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इन्स्योरेन्स, अरुण काबेली लगायतको सेयर मूल्य धेरै बढेको बजारमा नयाँ सारथी नेपाल लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्सका साथै केही सामुहिक लगानी कोषहरुको सेयर तथा इकाई मूल्यमा भारी गिरावट आएको छ ।

कारोबार रकमका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको बजारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट्स लगायत कम्पनीले कारोबार रकममा अरुण काबेलीलाई पछ्याएका छन् ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति पर्खिरहेका लगानीकर्ताहरु व्याज र करको चटारो घट्दै गए पछि क्रमिक रुपमा बजार प्रवेश गरेको देखिन्छ । यद्यपी राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्ने सम्बोधनको पर्खाइ र त्यसको असर भने भोलिका दिनमा देखिँदै जानेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।