उत्पादन क्षेत्रका कम्पनी आईपीओमा, इन्द्रेणी मसरुम फार्मले पनि निष्काशन गर्ने


इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा सेयर निष्काशन गर्ने भएको छ । कृषि तथा अरु क्षेत्रका उत्पादन कम्पनीहरुले साधारण सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरिरहेका बेला इन्द्रेणी मसरुमले पनि बिक्री प्रबन्धक चयन गरेको छ ।

साधारण सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले हाल जारी पूँजी १० करोड रुपैयाँको २० प्रतिशतले हुने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । ८० प्रतिशतले हुने ८ करोड रुपैयाँ पूँजी संस्थापकहरुबाट चुक्ता भईसकेको छ ।

नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समय व्यतित भई सकेको भए पनि आधुनिक च्याउ खेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरिए पनि सफल हुन नसकिरहेको अवस्था छ ।

यस्तो अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ ।

आधुनिक च्याउ फार्म शुरु गरेको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको बताउँदै कम्पनीले हाल दैनिक रुपमा च्याउ उत्पादन भइरहेको जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।