गहुँ र चिनीको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू हुँदैनः भारतीय राजदूत श्रीवास्तव


नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहु, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको भेटघाटमा बोल्दै नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भारतसँगै नेपालको आर्थिक विकास हुनुपर्छ भन्ने मान्यतामा भारत सरकार रहेको बताउँदै घोषित प्रतिबन्ध नेपालको हकमा लागू नहुने प्रष्ट पारेका हुन् ।

महासंघ सचिवालयमा भएको भेटका क्रममा महासंघ अध्यक्ष गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

गोल्छाको भनाईलाई सम्बोधन गर्दै राजदुत श्रीवास्तवले भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए । “तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,” राजदूत श्रीवास्तवले भने, “हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौं ।”

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भंसार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । गोल्छाले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्न भारतीय सहयोग अपरिहार्य रहेको बताए । लामो समयदेखि मीरगञ्ज पुल बन्न नसकेकोततर्फ ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि पहल गरिदिन राजदुत श्रीवास्तवसँग आग्रह गरेका थिए ।

नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्नेतर्फ उनले राजदुत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको भन्दै उनले तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि आग्रह गरेका थिए ।

“सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवूद बनाउन भारत सरकार तयार छ,” महासंघको चासोलाई सम्बोधन गर्दै राजदुत श्रीवास्तवले भने । ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याव स्थापना गरेको र काठमाडौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको उनले जानकारी दिए ।

अर्को ल्याव उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको पनि उनले बताए । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुनुपर्ने उनको सुझाव थियो ।

गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफुले समाधान गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्नका लागि गरेको अनुरोधमा राजदूत श्रीवास्तवले पूर्ण सहयोग रहने बताएका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।