राजनितिक भर्तीकेन्द्रको असर : सरकारले ११४ संस्थामा सेयर लगानीगर्दा १०६ वटाले दिन सकेनन् प्रतिफल


सरकारले ११४ संस्थामा गरेको सेयर लगानीबाट संस्थाहरुको व्यवस्थापकीय कमजोरीका कारण कुनै किसिमको प्रतिफल नपाएको पाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयको विबरण अनुसार सरकारले ११४ संस्थामा अघिल्लो वर्ष साधारण, अग्राधिकार शेयर र अन्तर्राष्ट्रिय संस्थामा शेयरसमेत गरी ३ खर्ब १५ अर्ब ७० करोड २८ लाख शेयर लगानी गरेको थियो । गत आर्थिक वर्षमा उक्त लगानी रकम २६ अर्ब ९६ करोड, ७४ लाख रुपैंयाले बिस्तार भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

शेयर लगानीमा समायोजन भएको ५५ करोड ९२ लाख रुपैयाँ घटाउदाँ गत आर्थिक वर्षको अन्त्यसम्ममा थप ३ खर्ब ४२ अर्ब ११ करोड १० लाख रुपैयाँ शेयर लगानी भएको प्रतिवेदनले देखाएको हो ।

“उल्लिखित शेयर लगानीमध्ये यो वर्ष (आर्थिक वर्ष २०७७।०७८) नेपाल राष्ट्र बैङ्कबाट ६ अर्ब, नेपाल टेलिकमबाट ५ अर्ब ४८ करोड ९७ लाख, नेपाल आयल निगमबाट १८ करोड ८१ लाख, कृषि विकास बैङ्क लिमिटेडबाट ६४ करोड ४ लाख, राष्ट्रिय वाणिज्य बैङ्कबाट ३१ करोड ५० लाख नेपाल स्टक एक्सचेञ्जबाट ८ करोड ८० लाख, बुटवल पावर कम्पनीबाट २ करोड ९८ लाखसमेत ८ संस्थाबाट १२ अर्ब ७५ करोड १३ लाख नगद लाभांश प्राप्त भएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

उल्लेखित लाभांश अघिल्लो वर्षको तुलनामा ४५.६५ प्रतिशतले घटेको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ । यसका साथै उल्लेखित ८ बाहेकका कुनै पनि संस्थाबाट सरकारलाई लाभांश प्राप्त भएको छैन । १०६ संस्थामा गरेको शेयर लगानी ३ खर्ब ४५ करोड ३८ लाख रुपैंयाबाट कुनै किसिमको प्रतिफल नपाउनु संस्था सञ्चालनको कमजोरी रहेको प्रतिवेदनमा उल्लेख छ । “१०६ संस्थाबाट यो वर्ष कुनै प्रतिफल प्राप्त गरेको नदेखिंदा संस्था सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।