जनरल र सानिमा जनरल इन्स्योरेन्सबिच मर्जर सम्झौता, १ बराबर एक सेयर स्वाप


बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्ने दवाबमा रहेका बीमा कम्पनीहरु एक पछि अर्को गर्दै मर्जरमा जान थालेका छन् । बुधबार बिहान मात्र सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएकोमा बुधबार साँझ नै सानिमा जनरल र जनरल इन्स्योरेन्सका बीचमा मर्जर सम्झौता भएको छ ।

राजधानीको नक्सालस्थित होटल मेरियटमा आयोजित एक कार्यक्रमका बिच दुई कम्पनीका बिच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । मर्जर सम्बन्धि सम्झौतामा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका छन् ।

प्रारम्भिक सम्झौता अनुसार १ बराबर एकको अनुपातमा मर्जरमा जाने, मर्जर पछि बन्ने कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स रहने सहमति भएको छ । त्यसै गरी नयाँ बन्ने कम्पनीको अध्यक्षमा हाल जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् ।

नोटबजारसँगको कुराकानीमा कयालले प्रारम्भिक सम्झौता भएकाले धेरै विषय चरणबद्ध रुपमा समायोजन गर्दै लैजाने बताए । यस दौरान दुवै संस्थाको समानुपातिक प्रतिनिधित्व तथा अस्तित्वलाई केन्द्रमा राखेर मर्जर प्रकृयालाई पुर्णता दिने उनले बताए ।

गत वर्ष मात्र सर्वसाधारणमा सेयर जारी गरेका दुवै कम्पनीको चुक्ता पूँजी एक एक अर्ब रुपैंया छ । एक बराबर एकको अनुपातमा मर्जर प्रकृया पुरा भए पछि बन्ने सानिमा जनरल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि न्युनतम २ अर्ब रुपैंया चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।