धितोपत्र बोर्ड र ब्रोकरको सन्दर्भमा कठोर बनेको महालेखा लगानीकर्ताको पक्षमा

0
Shares

महालेखा परीक्षकको कार्यालय धितोपत्र बोर्ड र ब्रोकर प्रति कठोर बनेको छ । महालेखाले धितोपत्र बजारको अस्थीरता र अस्वभाविक उतारचढावमा बोर्ड र ब्रोकरको कमजोरी औल्याएको हो ।

धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था, नेप्से, सीडीएससी र क्रेडिट रेटिङ एजेन्सीको हालसम्म स्थलगत सुपरिवेक्षण नगरेको महालेखाले औल्याएको छ । त्यसका साथै धितोपत्र बोर्डको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा पनि बजारमा अनावश्यक चलखेल हुने गरेको महालेखाको ५९ औ प्रतिवेदनमा उल्लेख छ । त्यती मात्र नभै धितोपत्र बजार तथा दलालहरूको अनलाइन रियल टाईम निगरानीको हकमा धितोपत्र बजारले उपलब्ध गराएको सीमित र नियन्त्रित पहुँचका आधारमा कार्य हुँदा बोर्डले प्रभावकारी अनुगमन तथा पर्याप्त सूचना प्राप्त गर्न नसकेको महालेखाले जनाएको छ ।

धितोपत्र बोर्डको नियमनमा प्रश्न गरेको महालेखाले धितोपत्र दलाल कम्पनीले सेयर लगानीकर्ताबाट लिने सेवा शुल्कको सन्दर्भमा समेत धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । धितोपत्र ब्रोकरको आम्दानी अस्वभाविक भएको भन्दै महालेखाले सेवा शुल्क समेत घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र ५० धितोपत्र दलाल व्यवसायीको कुल आय १० अर्ब ६९ करोड ३ लाख रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सो आय मध्ये २ अर्ब ९९ करोड ४८ लाख खर्च गरी ७ अर्ब ६९ करोड ५५ लाख खुद नाफा गरेका छन् ।

उच्च खुद आय हुने ५ धितोपत्र दलाल व्यवसायीको कुल आयको तुलनामा खुद आय कमशः ९१.८० प्रतिशत, ९१.६० प्रतिशत, ९१.६० प्रतिशत, ८८.३० प्रतिशत र ८५.३० प्रतिशत रहेको महालेखाले देखाएको छ । ५० धितोपत्र दलाल व्यवसायीको कुल आयको तुलनामा औसत खुद आय ७०.७८ प्रतिशत रहेको छ ।

धितोपत्र दलाल कम्पनीले सेयर कारोबार बापत लगानीकर्ताबाट लिने सेवा शुल्कको निश्चित प्रतिशत रकम कारोबारीहरुलाई कमिसनको रूपमा फिर्ता गरेको देखिन्छ । सनी सेक्यूरीटीजले अघिल्लो वर्ष वर्ष मात्र कमिसन बापत ७ करोड २० लाख रुपैयाँ फिर्ता गरी खर्च दाबी गरेको महालेखाले भेटेको छ ।

हाल धितोपत्रको कारोबार सूचना प्रविधिमा आधारित हुँदै गएको, धितोपत्र राफसाफ तथा फस्यौट प्रणालीमा सुधार भएको, धितोपत्र व्यवसायको क्षेत्र र दायरा विस्तार हुँदै गएको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीलाई अधिक र अस्वाभाविक लाभ आर्जन हुने तथा केही ठूला र संस्थागत लगानीकर्ताहरूले कमिसनबापत रकम प्राप्त गर्ने अवस्था देखिएकाले धितोपत्र दलाल व्यवसायीले लिने विद्यमान सेवा शुल्कको दरमा पुनरावलोकन गरी धितोपत्र व्यवसायलाई स्वच्छ, पारदर्शी र लगानीमैत्री बनाउन महालेखाले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

धितोपत्र व्यवसायी तथा धितोपत्र दलालहरूको कार्य उपर बोर्डले नियमित रूपमा प्रभावकारी ढङ्गबाट नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ गर्नुपर्ने व्यवस्था भएपनि सो अनुसार धितोपत्र बोर्डले काम गर्न नसकेको महालेखाले देखाएको छ । वस्तु विनिमय बजार नियमावली, २०७४ को नियम ५ अनुसार पूर्व स्वीकृतिका लागि २०७६ असारमा ६ निवेदकले पेस गरेको निवेदन स्वीकृति सम्बन्धमा २०७८ चैत्र सम्म पनि बोर्डले निर्णय गर्न सकेको छैन ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकत क्रियाकलाप तथा थपघट बारेमा बोर्डले शीघ्र सूचना पाउन र नियन्त्रण गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन तथा ऋणपत्रको निष्काशन गरेपछि पेस गर्नुपर्ने पुँजी उपयोगिताको प्रतिवेदन पेस नगरेको महालेखाको निष्कर्स छ । मर्चेन्ट बैङ्क, सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारको सेवा शुल्क, विवरण, प्रतिवेदनहरू समयमै प्राप्त गरी प्रभावकारी नियमन र अनुगमन गर्न महालेखाले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।