बैंकमा अन्य प्रकृतिको खाताको पैसा मुद्दतीमा सिफ्ट, निक्षेपकर्ता चलाख हुँदा बैंकको खर्च बढ्यो

0
Shares

बैंकिङ क्षेत्रले वेवास्ता गर्दै आएको भए पनि पछिल्लो समयमा निक्षेपकर्ताले पनि चलाखी अपनाउन थालेका छन् ।

बैंकहरुले सधैँ ऋणीलाई मात्र प्राथमिकतामा राख्न थालेपछि निक्षेपकर्ताले पनि ब्याजदरको उतार-चढाव अनुसार निक्षेपलाई सिफ्ट गर्न थालेका हुन् ।

चालु आर्थिक वर्षको सुरुवातदेखि बैंकिङ क्षेत्रको ब्याजदर बढ्न थालेको थियो । ब्याजदर बढ्न थालेसँगै सर्वसाधारणले चल्ती बचत खातामा राख्दै आएको रकम समेत निक्षेपमा सिफ्ट गरेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार विसं २०७८ असारमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८६ प्रतिशत थियो । चालु आवको जेठ मसान्तमा यस्तो दर ९.३९ प्रतिशत कायम भएको छ । त्यसैगरी विसं २०७८ असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.६५ प्रतिशत रहेकोमा विसं २०७९ जेठमा बढेर र ७.३४ प्रतिशत पुगेको छ । विसं २०७८ असारमा बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशत रहेकोमा जेठसम्म आइपुग्दा ११.५४ प्रतिशत रहेको छ ।

त्यसैगरी बैंकहरुमा ३ करोड ८३ लाख ७० हजार निक्षेप खाता र १५ लाख १ हजार ६६३ मात्र कर्जा खाता छन् । यो तथ्यांकलाई हेर्दा पनि निक्षेपकर्ताहरु जसरी पनि बैंक आउछन् भन्ने सोच बैंकहरुमा रहेको देखाउँछ । खाता रहेको बैंकमा सानो ठूलो रकममा आउने निक्षेपमा व्याजदर अफर गर्नु नपर्ने सहजता बैंकहरुलाई छ भने ऋणीको हकमा त्यस्तो अवस्था हुँदैन ।

बैंकहरुले निक्षेपकर्तालाई लगानी गर्नुपर्ने र ऋणीबाट असुल्ने भएकाले पनि फरक खालको ब्यबहार गर्ने गरेको एक पूर्व बैंकरले बताए । “निक्षेपकर्तालाई दिने ब्याजदर बढाउन भनेपछि बैंकहरुले निकै गाह्रो मान्ने गरेको देखिन्छ,” ती बैंकरले भने, “ऋणीको हकमा सक्दो धेरै व्याज लिन खोजे पनि निक्षेपकर्तालाई त्यसरी नै बढाएर दिन खोज्दैनन् ।”  बैंकहरुले निक्षेपकर्ता र ऋणीबीच फरक गरेकाले पनि ब्याजदरमा आउने उचार-चढावका कारण खाताका प्रकार अनुसार निक्षेप यता उता हुने गरेको उनले स्वीकार गरे ।

बैंकहरुका लागि अन्य खातामा रकम जम्मा हुनुभन्दा मुद्दती निक्षेपमा धेरै फरक पर्छ । बैंकहरुले लगानी गर्ने रकमको आधार मुद्दती निक्षेपको अवधिले सहयोग गर्ने देखिए पनि लागत बढ्न जान्छ । बैंकहरुमा मुद्दती निक्षेप धेरै भएको खण्डमा त्यसले आम्दानीलाई समेत असर पार्छ । त्यसैले बैंकहरुको मूल्याङकन गर्दा मुद्दती निक्षेप भन्दा पनि कल, बचत तथा करेन्ट एकाउन्टमा भएको पैसाको हिस्सा धेरै भएको खण्डमा लागत कम पर्न जाने भएकाले बैंकको आम्दानी तथा नाफामा समेत सकारात्मक प्रभाव पर्छ ।

गत आर्थिक वर्षको असार अर्थात विसं २०७८ असार देखि २०७९ जेठसम्ममा सबै बैंकका चल्ती तथा बचत खाताको निक्षेप घटेको छ भने मुद्दती निक्षेपको रकम बढेको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुको औसतमा करेन्ट डिपोजिट ८ प्रतिशत, सेभिङ १५.५ प्रतिशत र कल डिपोजिट १९.१ प्रतिशतले घटेको छ । तर, यो अवधिमा बैंकहरुको औसत मुद्दती निक्षेप भने २६ प्रतिशतले बढेको छ । केही बैंकको हकमा भने कल तथा अन्य खालका निक्षेप खातामा जम्मा हुने रकम बढेको देखिन्छ । ठूलो रकमको कारोबार गर्ने संस्था तथा फर्मको कारोबार ती बैंकबाट हुँदा यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा धेरै मुद्दती निक्षेप बढाउने बैंकमा सरकारी स्वामित्वको नेपाल बैंकको रहेको छ । यो अवधिमा बैंकको मुद्दती निक्षेप बढेर ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यो मुद्दती निक्षेप गत असारको तुलनामा ६५.५० प्रतिशतले धेरै हो । २०७८ असार अन्तिममा बैंकको कुल मुद्दती निक्षेप ४० अर्ब ५ करोड रुपैयाँ थियो । त्यसैगरी यो अवधिमा बैंकको करेन्ट डिपोजिट २.४० प्रतिशतले घट्दा सेभिङ डिपोजिट पनि ४.७० प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको कल निक्षेप २४.४० प्रतिशतले बढेको छ भने अन्य निक्षेप १३५.२० प्रतिशतले बढेको छ ।

त्यसैगरी सबैभन्दा थोरै मुद्दती निक्षेप बढाउनेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले चालु आवको ११ महिनाको अवधिमा २.१ प्रतिशतले मात्र मुद्दती निक्षेप बढाएको छ । त्यसैगरी यो अवधिमा नेपाल बंगलादेश बैंकको मुद्दती निक्षेपमा भएको रकममा कुनै परिवर्तन आएको छैन । यो अवधिमा बैंकको करेन्ट अकाउन्ट ६८ प्रतिशतले बढेको छ भने बचत र कल खाताको रकम क्रमशः १६ र ५१ प्रतिशतले घटेको छ ।

चालु आवको ११ महिनामा सबैभन्दा धेरै करेन्ट खाताको रकम घट्ने बैंकमा कुमारी बैंक रहेको छ । बैंकको करेन्ट एकाउन्टको रकम ६३.४० प्रतिशतले घटेको छ । त्यसैगरी सो अवधिमा धेरै बचत खाताको रकम घट्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको सेभिङ अकाउन्टको रकम गत असारको तुलनामा जेठमा २४.१० प्रतिशतले घटेको छ । यो अवधिमा सबैभन्दा धेरै कल निक्षेप घट्ने बैंकमा कृषि विकास बैंक परेको छ । बैंकको कल निक्षेप ५३.३० प्रतिशतले घटेको छ ।

बैंकहरुको निक्षेपको विस्तृत विवरण :-