बीमा कम्पनीको मर्जर लहरले लगानीकर्ताको सवा खर्ब सम्पत्ति ‘फ्रिज’, कुन कम्पनीमा कति फस्यो ?

0
Shares

नियामक निकाय बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्नका लागि अहिले बीमा कम्पनीहरू मर्जरको चटारोमा छन् । हकप्रद निष्कासनबाट पुँजी बिस्तार गर्न प्रतिबन्ध लगाइएसँगै बीमा कम्पनीहरू एक पछि अर्को गर्दै मर्जरमा जाने क्रम तीब्र छ । यस दौरान सञ्चालनमा रहेका ३९ जीवन र निर्जीवन बीमा कम्पनी मध्ये १७ ले मर्जरमा जाने सहमति गरिसकेका छन् । मर्जरमा गएका गएका १७ मध्ये १० कम्पनीले यसै साता मात्र मर्जर सम्झौता गरेका हुन् । 

२०७८ चैत १० गते बीमा समितिले बीमा कम्पनीहरूलाई हकप्रदको साथ नलिई १ वर्ष भित्र तोकिएको न्युनतम चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्न समितिले निर्देशन दिएसँगै बीमा कम्पनी मर्जरमा जाँदा लगानीकर्ताको सवा खर्ब सम्पत्ति बन्धक भएको हो । 

एक पछि अर्को गर्दै मर्जरमा गएका १७ मध्ये १६ बीमा कम्पनीमा लगानीकर्ताको १ खर्ब २४ अर्ब रुपैयाँ लगानी फ्रिज भएको छ । असार अन्तिम साता १० बीमा कम्पनी मर्जरमा जाँदै गर्दा महालक्ष्मी लाइफ बाहेकका सबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । महालक्ष्मीले हालसम्म सर्वसाधारणमा सेयर जारी  गरेको छैन । कुनै नीतिगत व्यवस्था नभएको अवस्था बैंकहरूको सेयर कारोबार रोक्का भएको अभ्यासका आधारमा बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो ।

जीवन बीमातर्फ सबैभन्दा पहिले राजेन्द्र खेतानको अगुवाइमा प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइन इन्स्योरेन्सले गत बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

कफि गफले जुराएको ३ बीमा कम्पनीको मर्जरले २० व्यवसायिक घराना एकै ठाउँमा

बीमा समितिले तीनवटै कम्पनीलाई मर्जरमा जानका लागि गत जेठ ३ गते सैद्धान्तिक सहमति दिइसकेको छ । गत असार १२ गते सूर्या लाइफ र ज्योति लाइफले मर्जरको सम्झौता गरेका थिए ।

सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्झौता

असार २९ गते रिलायन्स लाइफ र सानिमा लाइफले मर्जरमा जाने सम्झौता गरेकोमा त्यसको भोलिपल्ट असार ३० गते महालक्ष्मी र प्रभु लाइफका बिचमा मर्जरमा जाने सम्झौता भएको हो । मर्जरमा गएका जीवन बीमा कम्पनीको सेयर आदानप्रदान अनुपातका साथै अन्य विवरण यस्तो छ ।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा गाभिने सहमति

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरे मर्जर सम्झौता

उता निर्जीवन बीमा कम्पनीतर्फ पनि राजेन्द्र खेतानकै पहलमा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सका बिचमा मर्जरमा जाने सम्झौता भएको थियो । गत बैशाख २३ गते मर्जर सम्झौता गरेका यी दुई कम्पनीले बीमा समितिबाट असार ८ गते अन्तिम स्वीकृति पाएसँगै साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । 

हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार थाल्ने

त्यसैगरी असार २७ मा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सका बिच मर्जर सम्झौता भएकोमा २९ गते जनरल इन्स्योरेन्स र सानिमा जनरलले मर्जर सम्झौता गरेका थिए । त्यसको भोलिपल्ट बिहान असार ३० गते सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरमा जाने प्रारम्कि सम्झौता गरेका थिए । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीको सेयर आदानप्रदान अनुपातका साथै अन्य विवरण यस्तो छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति

जनरल र सानिमा जनरल इन्स्योरेन्सबिच मर्जर सम्झौता

सगरमाथा र लुम्बिनीबीच मर्जर सम्झौताः १०० बराबर ८० मा गाभिने

मर्जरमा गएका १७ मध्ये १६ कम्पनी मात्र नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत छन् । महालक्ष्मी बाहेकका मर्जरमा गएका १६ बीमा कम्पनीको चुक्ता पुँजी २७ अर्ब २६ करोड ७२ लाख रुपैयाँ छ । यस आधारमा ती कम्पनीहरूको कुल सेयर संख्या २७ करोड २६ लाख ७२ हजार ४० कित्ता हुन आउँछ । 

मर्जरमा गएका १७ बीमा कम्पनीको चुक्ता पुँजीको विवरण यस्तो छ । 

उल्लेखित सेयरको कारोबार बन्द भएसँगै लगानीकर्ताको १ खर्ब २४ अर्ब २४ करोड ९१ लाख ४ हजार रुपैंया बन्धक भएको हो । मर्जरमा जाँदा सेयर कारोबार स्थगन नगर्ने विषयमा चौतर्फी बहस र प्रयासका कुरा मात्र हुँदै आएको छ । नतिजामुखी निर्णय नहुँदा मर्जर अवधिभर लगानीकर्ताले आफ्नो सम्पत्ति बन्धक राख्न बाध्य हुनु परेको हो । 

बीमा कम्पनी मर्जरमा गएसँगै लगानीकर्ताको सम्पत्ति बन्धक बनाइनु उचित नहुने बजार सम्बद्ध व्यक्तिहरु बताउँछन् । “सूचीकृत कम्पनीलाई कार्वाही गर्दा सेयर कारोबार स्थगन गर्ने गरिएको छ । के बीमा कम्पनी मर्जरमा गएर कार्वाही भोग्नु परेको हो ?” नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले नियामक निकायलाई प्रश्न गरे । “निर्देशिकाको व्यवस्थाले मर्जरका बेला बैंकको सेयर कारोबार रोकिएको हो, तर बीमा कम्पनीको कारोबार रोक्नुपर्ने कुनै नीतिगत व्यवस्था छैन, विगतको अभ्यास हेरेर मात्र कारोबार रोक्दै लगानीकर्तालाई बन्धक बनाउनु गलत हो” पौडेलले भने ।

असार मसान्तसम्ममा मर्जरमा गएका कम्पनीको मर्जर अघिको सेयर मूल्यका आधारमा निकालिएको १६ बीमा कम्पनीको बजार पुँजीकरण, अन्तिम सेयर मूल्य लगायतको तथ्यांक यस्तो छ । 

बीमा कम्पनीको सेयर कारोबार रोक्दा लगानीकर्ताले कुनै पनि समयमा चलाउन सक्ने रकमका रुपमा बजारमा लगानी गरेका हुन्छन् । अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने लगानीकर्ताले सहजै तरल रुपमा परिचालन गर्न सक्ने लगानीको माध्यम सेयर बजार हो । तर, मर्जरका नाममा कारोबार रोकिँदा धेरै लगानीकर्ता प्रभावित भईरहेका छन् भने सेयर बजार तरलताका लागि उचित स्थान हो भन्ने विश्वसनीयतामा पनि प्रश्न उठ्न थालेको छ । 

अर्का एक लगानीकर्ता सेयर कारोबार रोक्दा राज्यले पाउँदै आएको ठूलो रकमको राजश्व समेत गुमिरहेको बताउँछन् । “नीतिगत रुपमा हुँदै नभएको व्यवस्थाको आडमा कारोबार रोक्दा राज्यले ठूलो रकमको राजश्व त गुमाई नै रहेको छ, मर्जरमा जान चाहने अरु धेरै कम्पनी सेयर रोक्का हुने डरले नै मर्जरमा जान आनाकानी गरिरहेका छन्,” ती लगानीकर्ताले आफु खुल्न नचाहने शर्तमा भने । औचित्यहीन काम नियामक निकायबाट भईरहेको आरोप लगाउँदै उनले फोर्सफुल मर्जर गराएर सेयर कारोबार रोक्का गराउनु लगानीकर्ता माथिको आक्रमण भएको बताए । एकै प्रकृति तथा एकनासको कम्पनीहरु मर्जरमा जाँदा सेयर कारोबार नरोकी वस्तुनिष्ठ तरिकाले होरिनुपर्नेमा उनले जोड दिए । 

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की पनि विगतका अभ्यासको आधारमा नै बीमा कम्पनीहरको सेयर कारोबार रोक्का भईरहेको स्वीकर गर्छन । बैंकको हकमा नीतिगत व्यवस्था भए पनि अरु सूचीकृत कम्पनीको कारोबार रोक्का हुनु नपर्ने सम्बन्धमा नियामक निकायका बिचमा छलफल चलिरहेको उनले बताए । 

“सेयर कारोबार रोक्का राख्ने विषयलाई वैज्ञानिक बनाउनु पर्ने आवश्यक्तासँगै कम्पनीहरुलाई मर्जर सक्न कति समय लाग्छ भन्ने विषयमा कम्पनीका सम्बन्धित नियामकसँग भईरहेका छन्,” नेप्से प्रमुख कार्कीले भने, “सबै पक्षसँग छलफल भईरहँदा पनि निर्णयमा पुग्न सकिरहेका छैनौं, केही व्यवस्था पक्कै हुन्छ ।” 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।