हिमालयन एभरेष्ट इन्स्योरेन्सले सुरु गर्यो एकीकृत कारोबार


एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको मर्जर पुरा भएसँगै एकीकृत कारोबार सुरु भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको कम्पनीको केन्द्रीय कार्यालय बबरमहलस्थित साविकको हिमालयन जनरल इन्स्योरेन्समा रहनेछ ।

हिमालयन एभरेष्टको सञ्चालक समितिमा दुबै संस्थाबाट तीन तीन जनाको प्रतिनिधित्व गराइएको छ भने अध्यक्षको जिम्मेवारी हिमालयन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठलाई, प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हिमालयनकै विजय बहादुर शाहलाई र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी एभरेष्टका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई दिइएको छ ।

मर्जरपश्चात् हिमालयन जनरलका २२५ र एभरेष्टका २१९ जना कर्मचारीलाई व्यवस्थापन गरि कुल कर्मचारी संख्या ४४४ कायम गरिएको छ । कर्मचारीहरुको हालको सेवा, सुविधा, भत्ता र पदलाई सम्मानजनक रुपमा समायोजन गरिने कम्पनीले जनाएको छ ।

मर्जरसँगै नयाँ कम्पनीको कुल शाखा संख्या ७५ पुगेको छ भने आवश्यकता अनुसार नयाँ स्थानमा व्यवसायको सम्भाव्यता हेरी थप शाखा विस्तार गर्ने तथा शाखा मर्ज र स्थानान्तरण गरि व्यवसाय विस्तारलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

१०० बराबर ८५ को अनुपातमा अर्जर भएसँगै बनेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । मर्जर अघि हिमालयनको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाख रुपैंया थियो ।

बीमा समितिले तोकेको न्युनतम २ अर्ब ५० करोड पूँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नेछ ।

गत असार २ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारण सभाले १ः०।८५ को स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।

२०७९ बैशाख २३ गते एक आपसमा मर्जमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कारोबार स्थगित गरिएको छ । अब कम्पनी रजिष्ट्रारको कार्यलयतर्फको सबै प्रकृया पुरा गरेर नियामक निकायको अनुमतिमा सेयर कारोबार सुचारु हुनेछ ।

बीमा कम्पनीको मर्जर लहरले लगानीकर्ताको सवा खर्ब सम्पत्ति ‘फ्रिज’, कुन कम्पनीमा कति फस्यो ?

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।