भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला कि नघट्ला ?


इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रेलियम पदार्थको नयाँ मूल्य पठाएको छ । आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो ।
शनिबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटेर आएको आयल निगमले जनाएको छ ।

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमको घाटा धेरै भएका कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने संकेत निगमले दिएको छ । निगमका अनुसार मूल्य घटेर आए पनि अहिलेसम्म नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सम्बन्धमा छलफल भएको छैन ।

आइओसीलाई ३० अर्ब रूपैयाँ तिर्न बाँकी रहेको निगमले घटेर आएको मूल्यबाट घाटा राक समायोजन गर्ने योजना बनाएको हो हो । मूल्य घटेर आउँदा पनि १५ दिनमा दुई अर्ब १६ करोड रूपैयाँ घाटा व्यहोरिरहेको निगमको भनाई छ । आईओसीलाई तिर्नुपर्ने बक्यौताका साथै नियमित रुपमा भईरहेको घाटाका कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने निगमको योजना छ ।

केही समय अघि उपभोक्तालाई मिनाहा गरिएको पुर्बाधार कर वापत ५९ करोड रुपैंया पाएको निगमले शुक्रबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ७ अर्ब रूपैयाँ ऋण पनि पाउनेछ । आन्तरिक राजश्व कार्यालयबाट झण्डै ३ अर्ब मूल्य अभिवृद्धि कर फिता पाएको निगमले आईओसीको बक्यौता भुक्तानी गर्न अझै झण्डै १९ अर्ब रुपैंया अपुग हुने बताएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।