नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टू दि होम (एफटीटीएच) सेवाको विस्तार सुरु गरेको छ । गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरुलाई पूर्ण एफटिटिएचमा रुपान्तरण गरि ‘कपर फ्रि’ नेटवर्क तयार पारिएको टेलिकमले जनाएको छ । ‘कपर फ्रि’ नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ ।
तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडव्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
यसबाट उपभोक्ताले सबै सेवा सहज रुपमा पाउने टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक रुपमा विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए ।
त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दर अनुसारकै “उच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए ।
यस्तो सेवामार्पmत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर विद्यालय तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए ।
उपाध्यायका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया