जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १५% बढ्यो, १ खर्ब ३९ अर्ब आर्जन

0
Shares

जीवन बीमा कम्पनीहरूले संकलन गर्ने बीमाशुल्क गत आर्थिक वर्ष २०७८/७९ मा औसतमा १४.९४ प्रतिशतले वृद्धि भएको छ । गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुको बीमाशुल्क बढेको हो ।

बीमा जनचेतना विस्तारसँगै बीमा कम्पनीहरको पोलिसी बिक्री दरमा सुधार आएपछि बीमा शुल्क संकलनमा वृद्दि भएकाे छ । असार मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेका थिए ।

गत आर्थिक वर्ष २०७८।७९ मा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३५ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गर्दै पहिलो बनेको छ । बीमा शुल्क आर्जनमा कम्पनीको हिस्सा एक चौथाई अर्थात २५ प्रतिशत माथि रहेको छ । अघिल्लो आव २०७७।७८ मा नेपाल लाइफले ३२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क उठाएको थियो । समीक्षा अवधिमा कम्पनीले ७.६४ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको हो ।
गत आव २०७८।७९ को असार मसान्तसम्ममा लाइफ इस्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १८ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफले सबैभन्दा धेरै ६ अर्ब ६८ करोड रुपैयाँ संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८ अर्ब ८२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । दोस्रो स्थानमा रहेको नेशनल लाइफले अघिल्लो वर्षभन्दा ५६ करोडले प्रथम बीमाशुल्क बढढाउँदै ४ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ । यस अवधिमा एलआईसीको प्रथम बीमाशुल्क घटेर ४५ करोड घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेको थियो ।

त्यस्तै समीक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड, युनियन लाइफले ८ अर्ब ९ करोड, एशियन लाइफले ७ अर्ब १७ करोड, सिटिजन लाइफले ५ अर्ब ४० करोड र मेट लाइफ इस्योरेन्सले ५ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हो ।

यसैगरी गत आर्थिक वर्षमा सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९९ करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ ३ अर्ब ९४ करोड, ज्योति लाइफ ३ अर्ब ८० करोड, आइएमई लाइफ ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बाँकी ६ कम्पनीको बीमाशुल्क संकलन साढे ३ अर्बभन्दा कम छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब १२ करोड, गुराँस लाइफले ३ अर्ब ८ करोड, प्रभु लाइफले २ अर्ब ३९ करोड, सानिमा लाइफले २ अर्ब २९ करोड र सबैभन्दा पुछारमा रहेको महालक्ष्मी लाइफले १ अर्ब ५९ करोड रुपैयाँ कुल बीमा शुल्क सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा देशको आर्थिक अवस्थामा अपेक्षिकृत सुधार हुन नसकेपनि जीवन बीमा क्षेत्रमा करिब १५ प्रतिशत वृद्धि हुनुलाई सन्तोषजनक मान्नुपर्ने देखिन्छ ।

ब्यावसाय वृद्धिदरमा नयाँ कम्पनी अगाडि, प्रभु लाइफको सर्वाधिक बढ्यो

गत आर्थिक वर्ष २०७८।७९ मा १९ जीवन बीमा कम्पनीहरुमध्ये चार वर्ष अगाडि स्थापना भएका नयाँ कम्पनीहरु अगाडि देखिएका छन् । व्यवसाय बढाउने शीर्ष दशमा आठ नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् ।

प्रभु इन्स्योरेन्सले सबैभन्दा धेरै ६५ प्रतिशतले कुल बीमाशुल्क संकलन बढाउँदा सन नेपाल, सिटिजन्स लाइफ र महालक्ष्मी लाइफ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । सन् नेपालको कुल बीमशुल्क ५१, सिटिजन्स लाइफ र महालक्ष्मी लाइफले ५० प्रतिशतभन्दा बढीले व्यवसाय विस्तार गरेका हुन् । यसैगरी रिलायबल नेपाललले ३१ प्रतिशत, आईएमई लाइफ २६, ज्योति लाइफ २२ र रिलायन्स लाइफले २१ प्रतिशतले कुल बीमाशुल्क संकलन वृद्धि गरेको हो ।

चारवर्ष अघि स्थापना भएका नयाँ जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय विस्तारमा पुराना कम्पनीहरुलाई टक्कर दिने गरि अगाडि बढ्न थालेका छन्। व्यवसायको वृद्धिको आधारमा मात्र होइन रकमका आधारमा पनि युनियन लाइफले पुराना तीन कम्पनीहरु सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्सलाई पछाडि पार्दै बीमाशुल्क रकमका आधारमा शीर्ष पाँचभित्र समेटिएको छ ।

अघिल्ला वर्षहरुमा नै वृद्धि गरेको व्यवसाय (पुराना बीमा पोलिसी) बाट प्राप्त हुने बीमाशुल्क संकलन र नवीकरणमा पुराना कम्पनीहरु रमाउँदै गर्दा नयाँ बीमा कम्पनीहरुलाई पुराना कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रन पनि नयाँ बीमा पोलिसी बिक्री गर्नुपर्ने चुनौती छ । यसले पनि नयाँ कम्पनीहरुलाई व्यवसाय विस्तार गर्नेुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित युनियन लाइफले पुराना तीन जीवन बीमा कम्पनीहरु सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्सलाई पछि पार्दै पाँचौँ स्थान ओगटेको छ । प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क दुबैमा आक्रमक ब्यापार गरेपछि युनियन पुराना कम्पनीभन्दा अगाडि पुगेको हो । नयाँ खुलेका आठ कम्पनी व्यवसाय विस्तारमा अग्रस्थानमा रहेका हुन् ।

पुराना जीवन बीमा कम्पनीतर्फ एशियन लाइफ इन्स्योरेन्सको २१ प्रतिशत, प्राइम लाइफ २०, युनियन लाइफ १९, सानिमा लाइफ १७, सूर्या लाइफ १७, नेशनल लाइफ १६, राष्ट्रिय बीमा संस्थान १४, नेपाल लाइफ ७, एलआईसी ६ र मेट लाइफले ४ प्रतिशतभन्दा धेरैले बीमाशुल्क संकलन बढाएको छ ।

कयौं वर्षदेखि बीमा बजारमा अधिपत्य जमाएका बीमा कम्पनीहरुको व्यवसाय विस्तार (नयाँ बीमा पोलिसी बिक्री) को दर निकै सुस्त देखिएको छ । पुराना सबैजसो बीमा कम्पनीको व्यवसाय विस्तार अघिल्लो आवमा भन्दा सामान्य वृद्धि देखिँदा गुराँस लाइफको भने घटेको तथ्याङ्कमा देखिएको छ । समीक्षा अवधिमा गुराँस लाइफको कुल बीमाशुल्क संकलन भने १६ प्रतिशतभन्दा बढीले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।