दश वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह


नेपाल समुद्रपार निकासी पैठारी संघले १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध अविलम्ब खारेज गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूसँग आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले बिहीबार उद्योगमन्त्री वडूलाई भेटेर यस्तो आग्रह गरेको हो ।

उक्त प्रतिबन्धले अनाधिकृत आयात बढ्दा सरकारले राजस्व गुमाएको बताउँदै प्रतिनिधिमण्डलले हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिने क्रम बढेको, रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको तर्फ ध्यानाकर्षण गराउँदै संघले आयात प्रतिबन्ध खारेज गर्न माग गरेको हो ।

कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउन संघले माग गरेको छ । यसले व्यवसायको लागत बढाएको संघको भनाइ छ । डिएपी, टिटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीमा भन्दा बढी छुटमा माल वस्तु उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न पाउनुपर्ने संघको माग छ । यसो गर्दा थोरै मात्रामा भए पनि विदेशी मुद्रा पलायन रोक्न मद्धत पुग्ने संघको भनाइ छ ।

सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता, तेस्रो मुलुकमा निर्मित वस्तु भारतबाट आयात गर्न दिनुपर्ने लगायत विषय उठाएको छ ।
मन्त्री वडूले आयातमा लागेको प्रतिबन्धको अवधि नथप्ने विषयमा आफू सकारात्मक रहेको र संघले उठाएका विषयमा उपयुक्त कदम चालिने आश्वासन दिएका थिए ।

प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिलकुमार वंशल, उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव मदन मित्तल, कोषाध्यक्ष, कुमार कार्की तथा कार्यसमिति सदस्यद्वय आकाश गोल्छा र प्रभातकुमार सर्राफ सहभागी थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।