बैंकबाट सर्वसाधारणमा गएको नोट समयमा फर्किँदैन, साउन सुरुवातिमै ७२ अर्ब निक्षेप घट्यो

0
Shares

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप समयमा नफर्किँदा पनि स्रोतको कमी हुने समस्या बढेको छ । नजिकिँदै गरेको संघीय र प्रादेशिक निर्वाचनका कारण पनि सर्वसाधारणको हातमा पुगेको पैसा होल्ड भइदिँदा बैंकिङ प्रणालीमा स्रोत अभावको समस्या देखिएको हो ।

चालु आर्थिक वर्ष सुरु भएपछि साउन महिनाको पहिलो ६ दिनमा मात्र ७२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारी खर्च तथा भुक्तानी बढेसँगै वित्तीय प्रणालीमा थपिएको निक्षेप साउन लागेपछि बाहिरिन थालेको हो ।

साउन महिनामा निक्षेप मात्र नभई बैंकहरुको कर्जाको आकार पनि १२ अर्बले घटेको छ । कर्जाको सन्दर्भमा रिपेमेन्टका कारण पनि घटेको हुन सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बताए । “निक्षेपकर्ताले हरेक त्रैमास समाप्तीपछि आम्दानी भएको ब्याजलाई झिक्ने भएकाले पनि निक्षेपमा कमी आएको हो,”उनले भने,“त्यससँगै गत असारमा सरकारबाट भएको भुक्तानी सम्बन्धित पार्टीहरुले पनि अन्य साना ठूला भुक्तानी गर्नका लागि लैजाने भएकाले निक्षेपमा कमी आएको हो ।”

यसरी भएको भुक्तानी सर्वसाधारणमा जाने र धेरै समय ‘होल्ड’ हुने भएकाले पनि स्रोत अभावको समस्या देखिने गरेको उनको बुझाई छ ।

भुक्तानी सन्तुलन नकारात्मक भैराख्दासम्म बैंकिङ प्रणालीमा स्रोत अभावको समस्या कायम नै रहने उनी बताउँछन्

। “कुल ग्राहस्थ उत्पादनको करिब १४ प्रतिशत रकम चलचल्तीमा रहेको छ,” केसीले भने, “अहिल चलन चल्तीमा रहेको रकम पनि तुलनात्मक रुपमा धेरै हो, यसलाई घटाउन सकेको खण्डमा पनि बैंकिङ प्रणालीमा केही सहज हुनसक्ने देखिन्छ ।”

सरकारले संघीय र प्रादेशिक निर्वाचनको तयारी गरिरहेको हुँदा चुनावका लागि समेत पैसा घरघरमा अड्किएको हुन सक्ने केसीको अनुमान छ । चुनावी खर्चको जोहो गरेका राजनीतिक दलका नेता तथा कार्यकर्ताले घरमा पैसा राखिदिँदा वित्तीय प्रणाली पैसा फर्कन ढिला हुने गरेको विषयलाई नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले पनि स्वीकर गरे ।

नेपाल राष्ट्र बैंकबाट बाहिरिएको पैसा पुनः सिस्टममा फर्कन समान्यत ६ महिना लाग्ने बताउँदै नेपालले भने, “पछिल्लो समयमा केही ढिला भएको भएपनि वित्तीय प्रणालीको समस्याको कारण त्यो होइन ।” उच्च आयातका कारण नेपाली मुद्रा नेपाल राष्ट्र बैंकमा र विदेशी मुद्रा बाहिरिदाँ समस्या आएको उनको बुझाई छ । पछिल्लो समयमा चलनचल्तीमा रहेको नोट घटेको बताउँदै उनले भने, “अहिलेको अवस्थामा ६ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको छ, यो गत कात्तिक मंसिरको तुलनामा एक खर्ब भन्दा धेरैले कम हो ।”  सर्वसाधारणले होल्ड गरेका कारण समयमा बैंकिङ प्रणालीमा पैसा फिर्ता नआउने भनेको करिब २० देखि ३० अर्ब रुपैयाँसम्म रहेको जानकारी नेपालले दिए ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असारको अन्तिम दिन ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको साउन ७ गतेसम्ममा बैंकिङ प्रणालीबाट ७२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । वाणिज्य बैंकहरुबाट मात्रै ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुबाट करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा बैंक वित्तीय संस्थको कर्जा समेत १२ अर्ब रुपैयाँले घटेको छ । गत असार ३२ गते ४७ खर्ब पुगेको बैंक वित्तीय संस्थाको कर्जा लगानी साउनको ७ गतेसम्म झनै घटेर ४६ खर्ब ८८ अर्बमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।