कर्जा तिर्न कर्जा दिने प्रचलन औंल्याएको राष्ट्र बैंकले किन लिँदैन ‘एक्सन’ ?

0
Shares

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा तिर्नका लागि कर्जा दिने गरेको विषयमा जानकार हुँदा पनि नियन्त्रणको प्रयास नगरेको भेटिएको छ । खराब कर्जालाई पनि असल देखाउन अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिने गरेको ठहर गरेपनि केन्द्रीय बैंक मौन रहेको हो।

नेपाल राष्ट्र बैंकले अफ साइट र अनसाइट निरिक्षण गर्दा नै खराब कर्जा कम देखाउन बैंक वित्तीय संस्थाहरुले कर्जाका लागि कर्जा दिने गरेको आंैल्याएको छ । तर, आफुले औल्याएको बैंकिङ प्रणालीको कमजोरी नियन्त्रणमा समेत राष्ट्र बैंकले कुनै पनि एक्सन नलिएको हो । नेपाल राष्ट्र बैंकको अघिल्लो आर्थिक वर्षको सुपरिवेक्षण प्रतिवेदनमै यस विषयमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार वित्तीय क्षेत्रको धेरै कर्जा रिभल्भिङ नेचरको छ । बैंकहरुले ‘एड–हक’ बेसिसमा छोटो अवधिका कर्जा दिने र कर्जाको परिपक्कता मिति बढाउने गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा सुविधालाइ लम्बाउने गरेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ,“रिभल्भिङ प्रकृतिको कर्जा क्लिन अप गर्ने अभ्यास निकै कमजोर रहेको छ, यसले गर्दा कर्जा परिपक्कता अवधिमा बेमेल र डिफल्ट भएका कर्जालाई अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिएर व्यवस्थापन गर्ने प्रचलन अझै पनि कायम छ ।”

त्यसैगरी केन्द्रीय बैंकको सुपरिवेक्षण अनुसार बैंक वित्तीय संस्थाको आक्रामक कर्जा प्रबाहका कारण कर्जा लगानी योग्य रकमको अभाव रह्यो । अघिल्लो आवका निजी क्षेत्रतर्फ कर्जा विस्तार वृद्धिदर २६.३ प्रतिशत रहेको छ । यसले उत्पादन बढाउन भन्दा पनि अनावश्यक बस्तुहरुको आयात तथा उपभोग अस्वभाविक हुन पुग्यो । त्यसका साथै बैंकहरुले प्रयाप्त स्रोत विना नै अत्याधिक कर्जा लगानी गरेपछि कर्जा लगानी योग्य रकमको अभाव देखिएको केन्द्रीय बैंकल जनाएको छ ।

त्यसका साथै अघिल्लो आवमा बैंक वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा ऋणीको कर्जा तिर्ने क्षमतालाई समेत प्रयाप्त मूल्याङकन नगर्ने गरेको राष्ट्र बैंकले पत्ता लगाएको छ । अघिल्लो आवमा बैंकहरुले दिएको फिक्ड इन्ट्रष्ट रेटमा आधार दर प्लस प्रिमियमलाई पालना नगरेको समेत देखिएको छ । त्यसै गरी क्रेडिट रेटिङ विनै ५० करोड भन्दा धेरैका कर्जाहरुमा अधिकासंक बैंकहरुले क्रेडिट रेटिङको आधारलाई ख्याल नै नगरी दिएको समेत केन्द्रीय बैंकले जनाएको छ।

त्यसैगरी केन्द्रिय बैंकले गरेको सुपरिवेक्षणमा बैंक वित्तीय संस्थाका सञ्चालकहरु नीति बनाउन भन्दा पनि कर्जा स्विीकृत गर्नमा केन्द्रित भएको औंल्याएको छ । केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासका कोरोनाका कारण सुपरिवेक्षण गर्न नसकेको जनाएको छ । तर, तेस्रो त्रैमासमा सिटिजन्स बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र ग्लोबल आइएमइ बैंकको पुर्ण अन साइट सुपरिवेक्षण गरेको छ । त्यसैगरी दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक र मेगा बैंकको लक्षीत अनसाइट अनुगमन गरेको छ । त्यसैगरी तेस्रो त्रैमासमा सिद्धार्थ बैंक र चौथो त्रैमासमा एनसीसी बैंकको लक्षित अनसाइट सुपरिवेक्षण गरेको छ ।

अघिल्लो आवमा केन्द्रीय बैंकले बैंक अफ काठमाण्डू, सनराइज बैंक, प्रभू बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंकको विषेश सुपरिवेक्षण गरेको छ । सुपरिवेक्षण्मा देखिएका कमीकमजोरी सुधारलागि केन्द्रीय बैंकले निर्देशन समेत दिइसकेको जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।