मौद्रिक नीतिले अल्मलिएका लगानीकर्ताको ध्यान धितोपत्र नीतिमा


समय समयमा हुने नीतिगत परिवर्तनका कारण अलमलमा पर्ने गरेका लगानीकर्ता बुधबार पनि अलमलमा परेका छन् । राष्ट्र बैंकको मौद्रिक नीति पछि उत्साहित बनेको बजार राष्ट्र बैंकको व्याजदर नीतिको अष्पष्टताले बुधबार अलमलिएको थियो ।

२०८९ अंकमा खुलेको बजार उतारचढावका बिच २०६८ अंकसम्म ओर्लिएको थियो । दिउँसो १ बजेदेखि उकालो लाग्न थालेको बजार उतारचढावकै क्रममा २३.८३ अंकले उकालो लागेको हो । योसँगै बजार परिसुचक नेप्से २१११.९९ अंकमा उक्लिएको छ ।

बजारमा सानादेखि ठुला सबै किसिमका लगानीकर्ता अहिले ब्याजदर बढ्ने त्रासमा छन् । विश्वका विभिन्न मुलुकले गरेको अभ्यास अनुसरण गर्ने तयारी राष्ट्र बैंकले गरिरहेको भन्ने हल्लाका कारण लगानीकर्ता अन्यौलमा पर्दै गर्दा बुधबार दिउँसोदेखि बजारले उकालो गति समातेको हो ।

यस क्रममा २२७ कम्पनीका ७५ लाख ८ हजार १८८ कित्ता सेयर ५० हजार २९७ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार रुपैंयाको कारोबार भएको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको बजारमा बाँकी सबैजसो कम्पनीको मूल्य बढेको छ ।

जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समुद्ध लघुवित्त र जालपा लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको बजारमा अरु १० कम्पनीको सेयर मूल्य ७ देखि ९ प्रतिशतसम्म बढेको छ ।

बिहीबार नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । बोर्डले बजारका सम्बन्धमा गर्ने नीतिगत व्यवस्थाको आशमा लगानीकर्ताको मनोबल उच्च भएसँगै बजारले सुधारको बाटो समातेको हो ।

व्यापार समुहमा १२ अंकको गिरावट आएको बजारमा लघुवित्त समुहमा सबैभन्दा धेरै १०७.७३ अंकको सुधार आएको छ ।

बुधबार सामुहिक लगानी कोष तथा ऋणपत्रहरुको इकाई तथा कित्ताको मूल्यमा धेरै गिरावट आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक  पेज का थप  ट्वीटर  र  युट्युब मा हामीलाई फलो गर्न सकिन्छ।