ऋण तिर्न र रोल्वालिङ बनाउन माथिल्लो तामाकोसीको हकप्रद


माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले कायम रहेका सेयरधनी लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले सो हकप्रद सेयर निष्कासन गर्ने सन्दर्भमा निर्णय गर्नका लागि आगामी भदौ ३ गते १४औ वार्षिक साधारणसभा गर्ने भएको हो । 

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्ने गरी कम्पनीले हकप्रद जारी गर्ने योजना बनाएको छ । तामाकोसी निर्माण गर्ने अवधारणा बन्दै गर्दा रोल्वालिङ खोलालाई फर्काएर तामाकोसीको जलाशयमा पानी थप्ने योजना कम्पनीको रहेको छ । 

सो योजनालाई थप परिष्कृत गर्दै २०.६६ मेगावाटको रोल्वालिङ आयोजना बनाउने र त्यसपछि पानी जलाशयमा पुराउने योजना कम्पनीको छ । यसका लागि लग्ने ८ अर्ब रुपैयाँ खर्च जुटाउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । हकप्रद जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोडबाट दोब्बर भएर २१ अर्ब १८ करोड पुग्ने छ । 

तामाकोसीको अर्को समस्या अल्पकालीन ऋण पनि हो । भुकम्प र कोरोना महामारीका कारण आयोजना निर्माण अवधि लम्बिदा थप ऋण लिएको थियो । यस्तो ऋणमात्रै करिव ५ अर्ब रुपैयाँ छ । यो ऋण घटाउन पनि आर्जित रकम प्रयोग गर्ने योजना कम्पनीको हो ।

तामाकोसी जलविद्युत् कम्पनीको हकप्रद रणनीति स्वपुँजी र ऋणको अनुपात सुधार गर्न चाहेको छ । तामाकोसी जलविद्युत् आयोजना बनाउँदा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको संरचना निर्धारित भएको थियो । तर  निर्धारित रकमले आयोजना बनाउन नसके पछि अल्पकालीन तथा अन्य ऋण लिएको थियो । यसबाट २०ः८० को अनुपात समेत क्रस गरेको छ । हकप्रद जारी भएपछि यो अनुपात २५ः७५ पुग्न सक्ने आँकलन गरिएको छ ।  

कम्पनीको वित्तीय अवस्था लगानीकर्तालाई लाभ दिइहाल्ने अवस्था भने अझै २ वर्ष नहुने देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी १ अर्व ६५ करोड रहेको देखिन्छ । चालु आवमा नोक्सानी केही कम भएर ९० करोड रुपैयाँ पुग्ने अवस्था छ । कम्पनीले अल्पकालीन ऋणकै लागि करिव ५० करोड ब्याज भुक्तानी गर्नुपर्छ । यस्तो ऋण नेपाल विद्युत् प्राधिकरणको मात्रै २ अर्ब रुपैयाँ छ ।

दीर्घकालीन ऋणमात्रै कम्पनीको करिव ४१ अर्व रुपैयाँ छ । यो मध्ये सरकारले उपलब्ध गराएको १३ अर्व रुपैयाँको ब्याज ६ प्रतिशत मात्र छ । बाँकीको करिव १० प्रतिशत तिर्नुपर्छ । कम्पनीले तिनुपर्ने ऋणको ब्याज दायित्वकै कारण लगानीकर्तालाई नाफा बढ्न सक्ने स्थिति अझै करिव ३ वर्ष नहुन सक्ने आँकलन कम्पनी उच्च व्यवस्थापनको छ ।

पाँचवर्षमा निर्माण सम्पन्न गर्ने भन्दै २०६७ भदौ देखि मुख्य निर्माणको काम थालेको सो आयोजनाले गत वर्ष देखिमात्रै आफ्नो व्यवसायिक विद्युत् उत्पादन थालेको हो । 

पिकिङ रन अफ द रिभरमा आयोजित ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत २२८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष छ । राष्ट्रिय गौरवको र पूर्ण स्वदेशी लगानीको यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत नागरिक लगानी कोषको २ प्रतिशत राष्ट्रिय विमा संस्थानको २ प्रतिशत सेयर स्वामित्व छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।