मर्जरमा गएका संस्थाको सेयर कारोबार निश्चित अवधिका लागि रोकिने, १० संस्थालाई पीइभीसी अनुमति


मर्जरमा गएका कम्पनीको सेयर कारोबार लामो समयसम्म रोक्का हुने व्यवस्थालाई धितोपत्र बोर्डले निर्देशिका मार्फत छोटो अवधिमा व्यवस्थापन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २ साता भित्र मर्जर निर्देशिका लागू गर्ने बताए ।

मर्जरमा जाने कम्पनीको कारोबार रोक्का नै नहुने अवस्था नहुने भन्दै उनले अन्तर्राष्ट्रिय बजारमा कम्तीमा एक दिनका लागि सेयर कारोबार रोक्का हुने गरेको अभ्यास भए पनि नेपालमा त्यस्तो सम्भव नभएको बताए ।

बोर्डमा निर्देशिका तयार हुने क्रममा रहेको बताएका उनले कति दिन कारोबार रोक्का गर्दा मर्जरका प्रकृयाले पूर्णता पाउँछन् भन्ने आधारमा छोटो र निश्चित अवधिका लागि मात्र कारोबार रोक्का हुने व्यवस्था निर्देशिकामा गरिने जानकारी दिए ।

कति दिन रोक्का राख्ने भन्ने निक्र्यौल भईनसकेको र अध्ययन पछि निक्र्यौल भएलगत्तै निर्देशिका जारी हुने उनले बताए । बढीमा ३ साताभित्र निर्देशन कार्यान्वायनमा आउने र कारोबार रोक्का निश्चित अवधिको हुने प्रष्ट पारेका हुन् ।

नेपाल राष्ट्र बैंकले निर्देशिका मार्फत मर्जरमा जाने बैंक वित्तीय संस्थाको सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरेको थियो । जसका कारण मर्जरमा जाने बैंक वित्तीय संस्थाको सेयर कारोबार अनिश्चतकालसम्म रोक्का हुँदा लगानीकर्ता समस्यामा पर्ने गरेका थिए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गर्दै धितोपत्र बोर्डलाई कारोबार रोक्का प्रणाली व्यवस्थापन गर्न भनेको थियो ।

बैंक वित्तीय संस्था बाहेकका मर्जरमा जाने बीमा तथा अन्य प्रकृतिका कम्पनीको सेयर कारोबार भने बैंक वित्तीय संस्थाको कारोबार रोक्काको अध्यासका आधारमा मात्र रोक्का हुँदै आएको छ । यस्ता कम्पनीको सेयर कारोबार रोक्का गर्ने कुनै नीतिगत व्यवस्था छैन । बोर्डले जारी गर्ने मर्जर निर्देशिकाले भने सबै किसिमका कम्पनीहरुको मर्जरमा सेयर कारोबार रोक्का हुने निश्चित अवधि तोक्न लागेको हो ।

१ महिना भित्र १० संस्थालाई पीइभीसी सञ्चालन अनुमति

त्यसैगरी बोर्डले १ महिना भित्र कम्तीमा १० संस्थालाई भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्ड सञ्चालनको अनुमति दिने भएको छ । बोर्ड अध्यक्ष हमालले पुर्बाधार तयार गरिसकेका मर्चेण्ट बैंकरसहित अन्य प्रतिष्पर्धी संस्थाहरुलाई सञ्चालन अनुमति दिने तयारी गरिएको जानकारी दिएका हुन् ।

६ संस्थालाई शैद्धान्तिक सहमति दिइसकिएको बताएका उनले थप ४ संस्थासमेतलाई सञ्चालन अनुमति दिने जानकारी दिएका हुन् । मर्चेण्ट बैंकरको हकमा अलग व्यवस्था गरेर सञ्चालन अनुमति दिन लागिएको हमालको भनाई थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।