बैंकहरुका सिसिटिभी संङकास्पद गतिविधि अनुसन्धानलाई पर्याप्त छैनन्: राष्ट्र बैंक

0
Shares

बैंक तथा वित्तीय संस्थाले सुरक्षा प्रयोजनका लागि राखेका सिसिटिभी माथि प्रश्न उब्जिएकोे छ । बैंकहरुमा हुन सक्ने गलत कृयाकलापलाई निगरानी गर्न राखिने सिसिटिभीको प्रयोग सो अनुसार हुन नसकेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले राख्ने सिसिटिभीले बैंकहरु भित्र हुनसक्ने गलत गतिविधीहरुको अनुसन्धानका लागि प्रयोग गर्न पर्याप्त छैनन । कन्द्रीय बैंकको सुपरिवेक्षणका क्रममा बैंकहरुका सिसिटिभी भिडियो निगरानी सेटअप अवैधानिक क्रियाकलाप, जालसाजी तथा शंकास्पद गतिविधिहरूको अनुसन्धान गर्न मिल्ने गरी पर्याप्त नभएको भेटिएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको अनुमगन प्रतिवेदन अनुसार अघिल्लो आवमा बैंकहरुका सिसिटिभी थप प्रभावकारी हुने गरी सेट गर्नुपर्ने औंल्याएको छ । अहिले राखिएका सिसिटिभी क्यामेरा मार्फत टेलरका नोटका प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने अनुगमनका क्रममा पत्ता लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक वित्तीय संस्थामा राखिएका सिसिटिभी क्यामेराले रेकर्ड गर्ने भिडियो क्वालिटी न्यून गुणस्तरको हुने गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “बैंकहरुमा प्रयोग भएका सिसिटिभी कम गुणस्तरका तथा आवश्यक क्षेत्रका पूरा कभर नगर्ने गरी सेटअप गर्ने गरिएको अनुगमनका क्रममा पाइएको हो,” ती अधिकारीले भने,“ सिसिटिभी राखिएपनि गलत क्रियाकलाप गर्न सघाउने गरी राख्ने गरिएको छ, यो सुधार हुनु पर्छ।”

बैंक वित्तीय क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले बैंकिङ सेवालाई थप छरितो र सहज बनाएको छ । तर, प्रविधिको प्रयोग बढेसंगै बैंकिङ क्षेत्रको जोखिम पनि थप भएको राष्ट्र बैंकको ठहर छ । नेपालको सन्दर्भमा साइबर क्राइमका घट्नाहरु आइसकेको अवस्था छ । प्रविधिको सहयोगमा एटिएम तथा स्वीफ्ट ह्याकिङका घट्ना नेपालमा घटिसकेका छन । त्यसैले बैंकहरुले साइबर सुरक्षाको सन्दर्भमा सबलिकरण गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपालका बैंक वित्तीय संस्थाले कोर बैंकिङ प्रणाली,सूचना प्रणाली व्यवस्थापन, भुक्तानी प्रणाली तथा डाटा व्यवस्थापनका लागि प्रविधिको उच्च प्रयोग गर्ने गरेका छन । यस्ता संवेदनशील क्षेत्रमा प्रयोग हुने प्रविधिको विषयमा सुरक्षित छ छैन भन्ने विषयमा बैंकहरु निश्चित हुनुपर्छ । प्रविधिको प्रयोगका कारण समग्र वित्तीय प्रणाली नै जोखिममा पर्न सक्ने भएकाले सचेत रहन समेत केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई सुझाएको छ ।

त्यसैगरी बैंकहरुले ग्राहक खाता खोल्ने फारमहरू विधिवत रुपमा नभरिने समेत केन्द्रीय बैैकले भेटेको छ । खाता खोल्ने क्रममा बैंकहरुले ग्राहकबाट थप कागजातहरू जस्तै राजनीतिक संलग्नता भएका व्यक्तिको प्रमाणीकरण फारम, स्व–घोषणा फारम नभराउने गरेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी बैंकहरुले चेकहरू खातावाला र खातावालाको एजेन्ट बाहेक अन्य व्यक्तिलाई समेत दिने गरेको केन्द्रीय बैंकको अनुगमन टोलिले औंल्याएको छ ।

बैंकका अधिकांश शाखा कार्यालयहरूमा एटीएम कार्ड र पिन दुवै एकैसाथ वितरण गर्ने र चेकबुक छाप्ने, स्वीकृत गर्ने र वितरण गर्ने काम एउटै कर्मचारीले मात्र गर्ने गरेको राष्ट्र बैंकले औल्याएको छ । यस सन्दर्भमा बैंकहरुले सजगता नअपनाएको खण्डमा वित्तीय क्षेत्रमा जोखिम झनै बढ्ने राष्ट्र बैंकको निष्कर्ष छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।