ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंकले खरिद गर्यो सरकारी ऋणपत्र, घट्यो औसत डिस्काउन्ट रेट

0
Shares

सरकारी ट्रेजरी बिल्समा बैंक वित्तीय संस्थाले हालसम्मकै उच्च ब्याज मागेपछि नेपाल राष्ट्र बैंक आफैले खरिद गरेको छ । केन्द्रीय बैंकले ब्याजदर सन्तुलित बनाउन बैंकहरुले माग गरेको ब्याजदरमा नदिई आफैले खरिद गरेको हो ।

सरकारले सोमबार १० अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र १८२ दिने ट्रेजरी बिल निष्कासन गरेको थियो । सरकारले पुरानो ऋणलाई फिर्ता गर्न नसक्ने भएपछि नविकरणका लागि बैंक वित्तीय संस्थालाई आह्वान गरेको हो ।

तर, बैंकहरुले १४ प्रतिशतसम्मको ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर ब्याजदर नियन्त्रण गर्नका लागि आफैले खरिद गरेको छ ।

बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गर्दा पनि करिब १४ प्रतिशतसम्मको ब्याजदर माग गरेका छन् ।

यसभन्दा अघि साउन ९ गते निष्कासन भएको ट्रेजरी बिल्समा बैंकहरुले १३.९९ प्रतिशतसम्मको ब्याज माग गरेका थिए । यो निष्कासनमा बैंकहरुले बोलकबोल गरेको ब्याजदरको औसत डिस्काउन्ट रेट १२.००३ कायम भएको थियो । सरकारले १३ अर्ब ६० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । डिस्काउन्ट रेट उच्च भएपछि सरकारले १० अर्ब फिर्ता गरेर ३ अर्ब ६० करोडको मात्र नविकरण गरेको थियो ।

बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि मात्र नभई लगानीका लागि समेत स्थाई तरलता सुविधा प्रयोग गर्न थालेका छन् । स्थायी तरलता सुविधा ७ प्रतिशतको दरमा लिने र त्यो भन्दा धेरैमा सरकारी ऋणपत्रमा लगानी गर्दै आएका बैंकहरुलाई चालु आर्थिक वर्षको मौद्रिक नीति आएपछि केही जटिलता बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले स्थायी तरलता सुविधा दर समेत बढाएर ८.५ कायम गरेको छ । त्यसले गर्दा पनि ट्रेजरी बिल्सको ब्याजदर झनै बढेको हो।

सरकारले ५ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिनको र ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्स नवीकरण गरेको छ । सो मध्ये केन्द्रीय बैंकले ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको र ४ अर्ब ९० करोड रुपैयाँ बरावरको १८२ दिने टे«जरी बिल्स खरिद गरेको हो । केन्द्रीय बैंकले ९१ दिने १२ करोड रुपैयाँ बराबरको र १८२ दिने १० करोड रुपौयँ बराबरको ट्रेजरी बिल्स मात्र बैंक वित्तीय संस्थालाई बिक्री गरेको छ ।

केन्द्रीय बैंक आफैले खरिद गर्दा ट्रेजरी विल्सको डिस्काउन्ट रेट भने साउन ९ गतेको भन्दा थोरै कायम भएको छ । सोमबार नविकरण भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ११.६९४६ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी १८२ दिने टे«जरी बिल्सको औसत डिस्काउन्ट रेट १०.९९९८ कायम भएको छ ।

यसभन्दा अघि साउन ९ गते केन्द्रीय बैंक सरकारका लागि निष्काशन गरिदिएको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर १२.००३३ प्रतिशत कायम भएको थियो । त्यसैगरी २८ दिनेको औसत डिस्काउन्ट रेट ११.३४१८ प्रतिशत कायम भएको थियो । यसभन्दा अघि १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.८३७८ प्रतिशत कायम भएको थियो । यो गत असार २७ गते निष्कासन भएको टे«जरी बिल्सको औसत डिस्काउन्ट रेट हो ।

सोमबार नविकरण भएको ९१ दिने ट्रेजरी बिल्सका लागि आवेदकले अधिकतम ११.४१६८ र न्यूनतम ११.८००१ प्रतिशत माग माग गरेका छन् । त्यसैगरी १८२ दिनेको लागि अधिकतम र न्यूनतम १०.९९९८ प्रतिशत माग भएको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदरमा आउने अस्वभाविक उतारचढाव र अस्थीरतालाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक आफैले पनि सरकारी ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सोमबार ब्याजदर बढ्न नदिनका लागि सरकारी ऋणपत्र खरिद गरेको हो ।

केन्द्रीय बैंकले सरकारी ऋणपत्र खरिद पनि ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेटमा केही गिरावट आएको छ । यसभन्दा अघि ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट नै १२ प्रतिशत भन्दा माथि पुगेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।