मार्जिन कर्जा सीमा भन्दा धेरै हुँदा नवीकरण गरे शतप्रतिशत प्रोभिजनिङ

0
Shares

बैंक वित्तीय संस्थाले सेयर धितो कर्जामा तोकिएको सीमा नाघेको अवस्थामा नविकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दे सेयर धितो कर्जाको सीमालाई थप कसिलो नीति लिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सिङल अब्लिगर लिमिटमा एक बैंक वित्तीय संस्थाबाट लिन सक्ने सेयर धितो कर्जाको सीमा ४ करोड रुपैयाँको व्यवस्था खारेज गरेको थियो । सो व्यवस्था खारेज गरेसंगै केन्द्रीय बैंकले सीमा सम्बन्धी व्यवस्थाको पालनामा थप कडाई गरेको हो ।

राष्ट्र बैंकले कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड कायम गरेको छ ।

२०७८ भदौ ८ अघि कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसभन्दा अघि मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको व्यवस्था थियो ।

एकल ग्राहक कर्जा सिमासँगै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २५ लाख रुपैयाँ भन्दा कमको मार्जिन कर्जाका लागि जोखिम भार पनि १०० प्रतिशत मै झारेको छ। अघिको व्यवस्था अनुसार बैंकहरुले १५० प्रतिशतको जोखिम भार वहन गरेर मात्र यस्तो परिणामको ऋण परिचालन गर्न सक्ने थिए।

२५ लाखभन्दा तलको मार्जिन ऋण दिँदा मेन्टेन गर्नुपर्ने जोखिम भार १०० मा झरेपनि सो रकमभन्दा बढी कर्जाका लागि भने व्यवस्था यथावत नै छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।