किसान लघुवित्तको कर्जा खरिद घोटालामा राष्ट्र बैंकले ढिला गरी सुरु गर्यो कार्वाही


नेपाल राष्ट्र बैंकले ३९ करोड रुपैंयाको कर्जा खरिद प्रकरणमा भएको दुरुपयोगको विषयमा किसान लघुवित्तका अध्यक्ष, पुर्व अध्यक्ष, पुर्व प्रमुख कार्यकारी अधिकृत तथा तत्कालीन एनआरएन लघुवित्तका अध्यक्ष माथि कार्वाही प्रकृया अघि बढाएको छ ।

केन्द्रीय बैंकले साउन २३ गते लघुवित्तलाई पत्र काट्दै अख्तियारमा परेको उजुरी, लघुवित्तमा भएको आर्थिक घोटाला लगायत विषयमा अनुसन्धान तथा कार्वाही गरि जानकारी गराउन निर्देशन दिएको हो ।

साढे ३ वर्ष पहिले लघुवित्तमा विभिन्न पदमा रहेका व्यक्तिहरुको सामुहिक मिलेमतोमा प्रकृया नपुर्याइ कर्जा खरिद गरि व्यक्तिगत हीतको काम गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो सम्बन्धमा लघुवित्तको बाह्य लेखापरीक्षकले समेत कैफियत देखाए पछि कर्जा लिने क्रममा सम्बन्धित संस्थासँग प्रकृया पुरा नगरेको विषय बाहिर आएको थियो ।

तत्कालीन एनआरएन लघुवित्तका अध्यक्ष प्रमोद उप्रेती, हालको किसान लघुवित्तका अध्यक्ष लोकराज शर्मा, पुर्व अध्यक्षहरु सरिता उप्रेती, पुर्व प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहलाई यो प्रकरणमा मुख्य आरोपी देखाउँदै गत जेठ १२ गते अख्तियारमा उजुरी परेको थियो । प्रमोद उप्रेती र सरिता उप्रेती श्रीमान् श्रीमती हुन् । उनीहरु आलोपालो गर्दै संस्थामा कहिले अध्यक्ष र कहिले सञ्चालक हुँदै आएका छन् । संस्थामा उत्पन्न प्राविधिक समस्याका कारण सरिताले किसान लघुवित्तको अध्यक्षबाट राजिनामा दिएर सञ्चालकमा मात्र सिमित भएकी हुन् ।

कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको तत्कालीन एनआरएन लघुवित्तले २०७५ फागुन १७ गते तत्कालीन कञ्चन डेभपमेण्ट बैंकको महेन्द्रनगरस्थित मुख्य कार्यालयको लघुवित्त कर्जा खरिद गर्ने सम्झौता भएको थियो । उक्त कर्जा परिचालन गर्ने समयमा बैंकसँग भएको सम्झौताका बुँदाहरु तत्कालीन सञ्चालक समिति र व्यवस्थापनले कार्यान्वायन नगरेको बाह्य लेखापरीक्षकको टीप्पणीमा उल्लेख छ ।

उक्त विषयलाई लघुवित्त सञ्चालक समिति तथा व्यवस्थापनले हालसम्म प्रष्ट बनाएर कार्यान्वायनमा नल्याएको भन्दै लघुवित्त भित्र आर्थिक घोटाला भएको विषय सहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

अख्तियारमा लघुवित्तमा भएको आर्थिक अनियमतताको विषयमा उजुरी परेपछि अख्तियारले राष्ट्र बैंकलाई पत्र काट्दै वास्तविकताका सम्बन्धमा छानबिन गर्न भनेको थियो । अख्तियारले गत असार १९ गते नै केन्द्रीय बैंकलाई पत्र काटेकोमा केन्द्रीय बैंकले साउन २३ गते मात्र लघुवित्तलाई पत्र काटेर अनुसन्धान तथा कार्वाही गर्न निर्देशन दिएको हो ।

अख्तियारमा परेको उजुरी अनुसार लघुवित्तका हालका अध्यक्ष लोकराज शर्मा (तत्कालीन एनआरएन लघुवित्तका सञ्चालक), एनआरएन लघुवित्तका तत्कालीन अध्यक्ष प्रमोद उप्रेती, किसान लघुवित्तकी हालकी सञ्चालक तथा पुर्व अध्यक्ष सरिता उप्रेती र तत्कालीन एनआरएन लघुवित्तका पुर्व प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले कञ्चन डेभलपमेण्ट बैंकको कर्जा खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको अख्तिययारमा परेको उजुरीमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।