भदौदेखि एमडिएमएस प्रणाली लागू गर्ने दूरसञ्चार प्राधिकरण र मोबाइल आयातकर्ता संघको निर्णय

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल आयातकर्ता संघ नेपाल (मोबाइल फोन इम्पोर्टस एसोसियसन) बीच आगामी भदौ महिनादेखि नेपालमा ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ अर्थात एमडिएसएम प्रणाली लागू गर्ने सहमति भएको छ ।  एसोसियसनद्धारा साउन २६ गते काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’ को संयुक्त कार्यशाला गोष्ठी सम्पन्न भएपछि दुबै पक्ष एमडिएसएम लागू गरेर जाने बाटोमा पुगेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थिति बाहेक आगामी भदौ ३० बाट एमडिएमएस सिस्टम सुरु गर्ने प्रतिवद्धता गरेका छन् ।

नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा स्वागत मन्तब्य राख्दै मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले भने, “अहिलेको समयमा यसलाई गाँस, बास र कपास पछिको अति आवश्यकीय वस्तुको रुपमा मोबाइल फोन मानिन्छ तर हाल पछिल्लो समय सरकारले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको छ ।”

उनले मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सरकारको सो कार्यप्रति आपत्ति जनाएका थिए । सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अबौं राजश्वसमेत गुमाउनु परेको उनले बताए ।

गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने गरेका छन् भने अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट आई कर्मचारीहरुको कटौती सम्म गर्नुपर्ने बाध्यताले हजारौँको सङ्ख्यामा बेरोजगारी दर वृद्धि हुने अवस्था आएको तथ्य प्रष्ट पारे । अध्यक्ष मलहोत्राले मोबाइल फोनको व्यवसायमा देखिएको यो अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडिएमएस लागू गर्न अब ढिला गर्न नहुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडिएमएस लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आगामी भदौ ३० बाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएसएम) गर्ने निर्णय सहित उक्त गोष्ठी सम्पन्न गरिएको थियो । यो प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरू नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

कार्यक्रममा मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडिएमएस सुरुवात हुने र यसको दुई देखि तीन महिनामा शतःप्रतिशत लागू हुने बताए । उनले भने, “यो दुई–तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गर्ने हो र भदौ ३० उप्रान्त नेपालमा अनधिकृत आयातित मोबाईल सुचारु÷चल्ने छैन । यो कुरामा नेपाल दुर सञ्चार प्राधिकरणले सतःप्रतिशत प्रतिबद्वता दिएको छ त्यसकारण यसमा कुनैपनि शंका उपशंकाको ठाउँ रहने छैन ।” यो व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरण र सम्पूर्ण मोबाईल व्यवसायीहरुलाई मात्र नभई देशका सुरक्षासँग पनि जोडिएको कारणले गर्दा हामी सबैले यसलाई सफल तुल्याउने दायित्व वहन गर्नुपर्ने उनको भनाई छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले एमडिएमएसको महत्व, विशेषता र प्रविधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिए । त्यस्तै अर्का नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक रेवती राम पन्तले एमडिएमएस वाइलज २०७५ का बारेमा बुँदागत रुपमा व्यख्या विश्लेषण गर्दै यसको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।

गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, एमपिआई, एनएमडिए। एफएनडिबिएका प्रतिनिधिहरुले पनि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।