विदेशी सञ्चिति असारमा मात्रै ९ करोड डलरले बढ्यो


आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्र ९ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । सरकारले आयातमा कडाइ गरेसँगै विदेशी सञ्चितिमा परेको दबाबमा कमी आएको हो । 

उच्च आयातका कारण बाह्य वित्तीय क्षेत्रमा दबाब परेको थियो । उक्त दबाबलाई कम गर्नका लागि एलसी खोल्न तथा विभिन्न बस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाएको अवस्था छ । त्यसले गर्दा विदेशी सञ्चितिमा आउने गिरावट भने सुधार आएको छ । 

२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ । 

गत आर्थिक वर्षको जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड डलर थियो । असार महिनामा ९ करोड डलरले बढेर त्यस्तो सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । पछिल्लो समयमा अमेरिकी डलर बलियो भएका कारणले पनि विदेशी सञ्चिति हुनु पर्ने भन्दा कम देखिएको हो । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई १०५६ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई १५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । 

२०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।