अर्थसचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ


अर्थसचिव कृष्णहरी पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालकको सपथ लिएका छन् ।

बुधबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमकाबीच अर्थसचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको शपथ लिएका हुन् ।

अर्थसचिव पुष्करलाई कायममुकायम प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका का.मु. मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रार विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतको उपस्थिती थियो ।

अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएसँगै तत्कालीन अर्थसचिब मधु मरासिनी मन्त्रालय नै नआएर विदा बसेका थिए । मरासिनीलाई साउन १९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिष्द कार्यालयमा सरुवा भएपछि अर्थसचिवको पद खाली रहँदै आएको थियो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा वाह्य व्यक्तिको हस्तक्षेप भएको आरोपमा संसदीय छानविन समितिले सफाई दिए पछि शर्मा साउन १५ पुनः अर्थ मन्त्रि भएका थिए भने सोहि दिन देखि मरासिनी मन्त्रालय आउन छाडेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।