लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

0
Shares

धितोपत्र बजार कमजोर बन्दा आम लगानीकर्ताले अंकित मूल्य एक सय रुपैयाँमा नै सेयर किन्न छाडेका छन् । पछिल्लो समय सूचीकृत कम्पनीहरुको लगानीमा प्रतिफल क्रम घट्दै जाँदा आम लगानीकर्तामा अंकित मूल्यमा पनि सेयर खरिद गर्ने चासो नदेखिएको हो ।

सरकारी स्वामित्व समेत रहेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) लाई अंकित मूल्यमा नै सेयर बिक्री गर्न धौ धौ परेको हो । पटक पटक लिलामी खुला गरेको कम्पनीले अझै लिलाी खुला गरेकोमध्ये ७० प्रतिशत सेयर बिक्री गर्न नसकेको हो ।

एचआईडिसीएले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्दा संस्थापक लगानीकर्ताहरु कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले एक सय रुपैयाँमा नै सेयर किन्न अस्वीकार गरेपछि तीन संस्थाको स्वामित्वमा रहेकोसेयर खरिद हुन सकेको थिएन ।

हकप्रद अघि तीन संस्थासँग १०।१० प्रतिशतका दरले कम्पनीको कुल ३० प्रतिशत संस्थापक सेयर स्वामित्व थियो । तीनवटै संस्थाले हकप्रद वापत थप लगानी गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्री हुन नसकेर लिलामीमा आएको थियो ।

एचआईडिसीएले पहिलो पटक २०७८ असोज ७ देखि १४ गतेसम्म संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारणतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामीमा ल्याइएको थियो । उक्त समयमा सर्वसाधारणतर्फ सबै सेयर बिक्री भएपनि कम्पनीके प्रबन्धपत्र तथा नियमावली अनुसार संस्थापक सेयर किन्न न्यूनतम १ करोड कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्था रहेकाले कुनैपनि संस्थागत लगानीकर्ताबाट आवेदन परेन ।

त्यसपछि कम्पनीले संस्थापक सेयर बिक्री गर्नको लागि नै कम्पनीले नियमावलीको दफा १० लाई संशोधन गरेर ‘सेयरधनीले कम्पनीको संस्थापक हुन कम्तिमा १ करोड कित्ता शेयर लिएको हुनुपर्ने छ । तर, कम्पनी संस्थापना भएपश्चात संस्थापक समूहको सेयर खरिद गर्ने सेयरधनीको हकमा सो सीमा लाग हुनेछैन ।’ भत्रे शब्दावली राखेर सहजीकरण गरेको थियो ।

सो पश्चात कम्पनीले फागुन १ देखि १५ गतेसम्म संस्थापक सेयर पुनः लिलामी बिक्रीमा ल्यायो । सो समयमा १ करोडको सीमा संसोधन भई न्यूनतम १०० कित्तामा झारिएको थियो । यो समयमा उक्त संस्थापक समूहको सेयर दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भत्रे जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो । तर पछि धितोपत्र बोर्डले फागुन १२ गते पत्राचार गर्दै लिलामी रोक्न र पछि बोलपत्र पेश गरेकालाई रकम फिर्ता गर्न निर्देशन दियो ।

त्यसपछि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको संस्थापक र साधारण सेयर छुट्टाएर फरक कारोबार संकेत समेत कायम गरेको थियो । कम्पनीले उक्त संस्थापक सेयर तेस्रो पटक असार ५ गते १९ गतेसम्म लिलामीमा ल्याएको थियो । असार २४ गते खोलिएको शिलबन्दी बोलपत्रमा प्रतिसेयर १०० रुपैषँमा लिलामी खुला गरिएको सेयर संख्यामध्ये ५१ लाख ९० हजार ५२० (१५.७३ प्रतिशत) मात्र बिक्यो । न्यूनतम १०० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था गरिएपनि १६ प्रतिशतभन्दा कम सेयर बिक्री भएपछि कम्पनी र योजना व्यवस्थापक दुबैलाई तनाव बढ्यो ।

कम्पनीले चौथो पटक फेरि साउन १४ देखि २९ गतेसम्म पुनः अवितरित संस्थापक सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो । भदौ २ गते बिहान खोलिएको शिलबन्दी बोलपत्रमा २६० आवेदकबाट यस पटक पनि ४६ लाख कित्ता सेयर मात्र बिक्री भएको छ । चार चार पटक लिलामी गरिएको एचआईडिसीएलको हालसम्म ९८ लाख कित्ता सेयर बित्री भएको छ भने अझै ७० प्रतिशत बराबरले हुन आउने २ करोड ३२ लाख कित्ता संस्थापक सेयर बिक्री हुन सकेको छैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ भदौ २०७९, बिहीबार  १८ : १६ बजे