कृत्रिम निक्षेपका कारण बढेको बैंकहरुको ‘डिपोजिट’ टिकेन, साउनमा १०८ अर्ब निक्षेप हरायो


गत आर्थिक वर्षको असार अन्तिममा बैंकहरुले कृत्रिम निक्षेप सृजना गरेको भेटिएको छ । बैकहरुले स्रोत बढेको देखाई कर्जा लगानी गर्ने दाउमा एक अर्कोमा निक्षेप राखेर कृत्रिम निक्षेप सृजना गरेका हुन ।

बैंकहरुले गत असारमा निक्षेप उल्लेख्य बढेको देखाउनका लागि एक अर्को संस्थामा निक्षेप राखेका थिए । यसरी बैंकहरुले करिब ३० अर्ब रुपैयाँ बरावरको कृत्रिम निक्षेप सृजना गरेका थिए । साउन महिना लागेसँगै बैंकहरुले उक्त रकम झिकेपछि निक्षेपमा गिराव आउन थाल्यो । साउन महिनामा मात्रै १०४ अर्ब रुपैयाँ बैंकहरुबाट हरायो ।

असार महिनामा बैंकहरुमा १५२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले साउन महिनामा बैंकहरुको निक्षेपमा आएको अस्वभाविक गिरावटको सन्दर्भमा खोजी थालेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नै एक खर्ब भन्दा धेरैको निक्षेप बैंकहरुबाट बाहिरीएपछि केन्द्रीय बैंकले त्यसको खोजी सुरु गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । “बैंकहरुले कृत्रिम निक्षेप सृजना गरेको हुनाले असारमा बढेको निक्षेप साउनमा अस्वभाविक किसिमले घटेको देखिन्छ,” केन्द्रीय बैंकका ती अधिकारीले भने, “राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकहरुबाट बाहिरीएको निक्षेपकको अनुगमन गरीरहेको छ ।” बैंकहरुबाट बाहिर गएको निक्षेप के–कस्तो कारणले कुन क्षेत्रमा गएको हो भन्ने सन्दर्भमा केन्द्रीय बैंकले बैंकहरुसँग विवरण माग गरेको उनले बताए ।

यो अवधिमा बैंकहरुबाट कर्जा लगानी बढ्यो भन्नका लागि पनि २ अर्ब रुपैयाँ मात्र बैंकहरुले ऋण लगानी बढाएका छन ।

बैंकहरुको निक्षेपमा आएको गिरावटको कारणमा कृत्रिम निक्षेप पनि एक भएको बैंकरहरु बताउछन । त्यसका साथै नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिएका कारण पनि निक्षेपमा केही गिरावट आएको ती बैंकरकेको तर्क छ । तर, कर्जा नदिदाँ पनि बैंकहरुबाट एक महिना १०४ अर्ब निक्षेप बाहिरीनु स्वभाविक नभएको उनको बुझाई छ ।

साउन महिनाको ३१ गतेसम्ममा बैंकहरुमा कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप जम्मा छ । गत असार महिनाको अन्तिममा बैंकहरुको यस्तो निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । त्यसैगरी साउन महिनामा बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । गत असार अन्तिममा बैंकहरुको कुल ऋण लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।