आधा दर्जनको बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत नजिक, ३ बैंकको सीमा नाघ्यो


चालु आर्थिक वर्षको साउन महिनामा आधा दर्जन बढी बैंकहरुको कर्जा निक्षेप अनुपात ८९ प्रतिशत भन्दा माथि पुगेको छ । साउन महिनामा बैंकहरुको निक्षेप अस्वभाविक रुपमा घटेपछि कर्जा निक्षेप अनुपात बढेको हो ।

साउन महिनामा ३ वटा बैंकहरुको कर्जा निक्षेप अनुपात भने ९० प्रतिशत भन्दा माथि पुगेको छ । बैंकहरुले स्रोत भन्दा धेरै कर्जा लगानी गरेपछि कर्जा निक्षेप अनुपात तोकिएको सीमा भन्दा माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार साउन महिनामा सेञ्चुरी कमर्सियल बैंक, नबिल बैंक र नेपाल बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पुगेको छ ।

सो अवधिमा ९० प्रतिशतको हाराहारीमा कर्जा निक्षेप अनुपात हुने बैंकहरुमा कृषि विकास बैंक, बैंक आफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिर्घकालीन अवधिका ऋणपत्रलाई बैंक वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात गणना गर्दा समावेश गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिएको छ । तर, केन्द्रीय बैंकले २०७८ भदौ ८ गतेअघि निष्कासन भएका ऋणपत्रलाई कर्जा निक्षेप अनुपातमा गणना गर्दा आगामी २०८० असारसम्ममा मात्र निक्षेपको रुपमा गणना गर्न पाउँछन् । त्यसैगरी स्थानिय तहको पैसालाई पनि बैंकहरुले ८० प्रतिशतसम्म निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्थालाई समेत केन्द्रीय बैंकले निरन्तता दिएको छ । यो व्यवस्थाले पनि बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८६ प्रतिशतसम्म झरेको थियो ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंकहरुको निक्षेप अस्वभाविक रुपमा बाहिरीन थालेपछि कर्जा निक्षेप अनुपातमा दबाब पर्न थालेको हो । चालु आवको साउन महिनामा मात्र १०८ अर्ब रुपैयाँ निक्षेप बैंकहरुबाट बाहिरीएको छ । यो आवमा बैंकहरुले २ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । कर्जा लगानी नगरे पनि निक्षेप उच्च दरमा बाहिरीएपछि कर्जा निक्षेप अनुपातमा दबाब परेको हो ।

कृत्रिम निक्षेपका कारण बढेको बैंकहरुको ‘डिपोजिट’ टिकेन, साउनमा १०८ अर्ब निक्षेप हरायो

बैंकहरुले कृत्रिम निक्षेप सृजना गरेर कर्जा निक्षेप अनुपातलाई ९० प्रतिशतको सीमामा ल्याएका थिए । केन्द्रीय बैंकको दबाबका कारण बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमा भित्र ल्याउन निक्षेप बढाउन कृतिम निक्षेप सृजना गराएका थिए । साउन लागेसँगै बैंकहरुको कृतिम निक्षेपका लागि राखेको निक्षेप समेत झिक्न थालेपछि कर्जा निक्षेप अनुपातमा दबाब परेको हो ।

बैंकहरुले स्रोत अभावका कारण दैनिक रुपमा ४० देखि ५० अर्बसम्म नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा उपभोग गर्दै आएका छन् । हाल बैंकहरुको तरलता तथा कर्जा लगानीयोग्य रकम अभाव समस्या झनै जटील बन्दै गएको छ । बैंकहरुबाट निक्षेप बाहिरएिपछि कर्जा लगानी नगर्दै कर्जा निक्षेप अनुपातमा दबाब परेको हो । यसले गर्दा आगामी दिनमा बैंकहरुले कर्जा दिने अवस्था रहने देखिदैन ।

बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८८.०७ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।