पूँजी बजारमा भित्रिँदै नयाँ औजार, २ विशिष्टीकृत लगानी कोषलाई सञ्चालन अनुमति


नेपाल धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष सञ्चालनका लागि अनुमति दिने क्रमलाई तिब्रता दिएको छ । बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले थप एक संस्थालाई यस्तो कोष सञ्चालन अनुमति दिएसँगै सञ्चालन अनुमति पाउने संस्थाको संख्या २ पुगेको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका अनुसार आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले अवसर इक्वीटि फण्डलाई विशिष्टीकृत लगानी कोष सञ्चालन गर्ने अनुमति दिएको हो ।

सोमबार राजधानीमा बम्बई स्टक एक्सचेञ्जको सहयोगमा नेपाल स्टक एक्स्चेञ्जले आयोजना गरेको डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक २ दिने कार्यशालामा बोर्ड अध्यक्ष हमालले यस्तो जानकारी दिएका हुन् । यस अघि बोर्डले ग्लोबल इक्विटी फण्डलाई कोष सञ्चालन गर्न अनुमति दिइसकेको छ ।

बोर्ड अध्यक्ष हमालले कोष सञ्चालन अनुमतिको पर्खाइमा रहेका अन्य संस्थालाई पनि आवश्यक कागजात उपलब्ध गराउन आग्रह गरेका छन् । कोष सञ्चालनका लागि १७ संस्थाले आवेदन दिएकोमा ९ वटालाई बोर्डले शैद्धान्तिक सहमति दिएको थियो । २ संस्थालाई सञ्चालन अनुमति दिइसकेको अवस्थामा बाँकी ७ संस्थालाई पनि क्रमिक रुपमा सञ्चालन अनुमति दिँदै जाने बोर्डको तयारी छ ।

एनएमबी क्यापिटल, आध्यान्त फण्ड लिमिटेड, एनआईसी एसिया क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटलले बोर्डबाट कोष सञ्चालनका लागि शैद्धान्तिक सहमति पाइसकेका छन् । उल्लेखित संस्थाले प्रकृया पुरा गरेको खण्डमा भदौ महिना भित्र सञ्चालन अनुमति दिइने हमालले बताए ।

पुँजी बजारको विकासका लागि धितोपत्र बोर्डले आवश्यक काग गरिरहेको बताएका उनले डेरिभेटिभ्स बजारको विकासमा धेरै चुनौतीहरु रहेको बताएका थिए । जनशक्ति र स्रोत पर्याप्त नभएका कारण डेरिभेटिभ्स बजार सञ्चालनका क्रममा चनाखो भएर काम गर्नुपर्ने बताएका उनले अन्य मुलुकको अभ्यास लामो भएको तर नेपालले सुरुवाती चरणबाट काम गर्नु पर्ने भएकाले धेरै चुनौती रहेको बताए । भारतीय बजार धेरै विकसित र नियमन क्षमता अब्बल भएकाले डेरिभेटिभ्स बजार नियमन प्रभावकारी भएको भन्दै उनले नेपालमा धेरै मेहनत गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

के हो पिइभिसी ?

विशिष्टीकृत लगानी कोष अर्थात प्राईभेट इक्वीटी, भेन्चर क्यापिटल फण्डको छोटो रुप पीइभीसी हो । भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाति कम्पनीहरुमा संयुक्त पूँजी लगानी गर्छ । यसको विशिष्टता भनेको सुरुवाती स–साना कम्पनीहरुमा इक्वीटी र ऋणको लगानी गर्नु हो । आज लगानी गर्ने, व्यवस्थापन सम्हाल्ने, आम्दानी र मुनाफा बढाउने, अनि कम्पनी नै बिक्री गरेर मुनाफा कमाउने काम भेन्चर क्यापिटलले गर्छ ।

त्यसैगरी प्राइभेट इक्वीटीले पब्लिकमा रहेको कम्पनीको पूरै इक्वीटी खरिद गरेर प्राइभेटमा परिणत गर्छ । यसले विविध क्षेत्रमा लगानी गर्छ तर प्राथमिक रुपमा भने पब्लिक वा निजी कम्पनीहरुको सम्पूर्ण वा बहुमत सेयर किनेर प्राइभेट बनाउने काम गर्छ । भर्खरै स्थापना भएका कम्पनीहरु जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना र सञ्चालनमा रहेका तर व्यवस्थापनको समस्या कारण प्रतिफल दिन नसकिरहेको कम्पनीहरुमा लगानी गर्छ । समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्ने, व्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर बिक्री गर्ने काम प्राइभेट इक्वीटीले गर्छ । प्राइभेट इक्वीटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ । प्राइभेट इक्वीटीको लगानी लामो समयको लागि हुन्छ ।

वैकल्पिक लगानी कोषको महत्वलाई पनि बुझ्न जरुरी हुन्छ । उद्योग धन्दाको विकास र विस्तार गर्ने प्रयाप्त सम्भावना हुँदाहुँदै पनि फस्टाउन नसक्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले विशेष गरी यस्ता क्षेत्रको विस्तृत अध्ययन, जोखिम मुल्याङ्कन तथा व्यवसायको भविष्यका सम्बन्धमा उचित विश्लेषण गरी लगानी गर्ने हुँदा औधोगिकिकरणमा नवप्रवर्तन बढाउनका लागि महत्वपूर्ण योगदान गर्छ ।

त्यसैगरी साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनमा समेत पीइभीसिको योगदान हुन्छ । साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि कर्जा लगानी मात्र नभई पूँजी लगानी गरी व्यवसायको सञ्चालन तथा विस्तारमा प्राविधिक सहयोग गर्नुपर्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले यस्ता उद्योगहरुमा आवश्यकता बमोजिम पूँजी लगानी गर्ने, यिनीहरुको विस्तारको सम्भावना हेरि आवश्यकता अनुसार प्राविधिक रुपले सहयोग गर्ने, सञ्चालन तथा वित्तीय सुशासन सुनिश्चित गर्ने लगायतका काम गर्छ ।

ठूला ठूला उत्पादन मुलक उद्योगहरुमा पूँजी लगानी गरी सुशासन कायम गर्ने तथा धितोपत्र बजारमा सूचीकरण गराउनमा समेत पीइभीसिको महत्वपुर्ण योगदान हुन्छ । प्राईभेट इक्वीटी फण्डहरुले ठूला ठूला उद्योगहरुमा आवश्यक इक्वीटी लगानी गर्ने गर्दछन् । प्राईभेट इक्वीटी फण्डहरुले यसरी इक्वीटी लगानी गरिसकेपछि यस्ता उद्योगहरुमा वित्तीय तथा सञ्चालन सुशासन कायम गराउँछन् ।

साथै कोषले निश्चित समयपछि लगानी झिक्नुपर्ने हुँदा धितोपत्र बजारमा सूचीकरण गराउन प्रेरित गर्दछन् । त्यसैले प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले देशको आर्थिक विकासमा ठूलो भमिका खेल्न सक्दछन् । विशेष गरी व्यवसायिक घरानाहरुको कब्जामा रहेका उद्योग व्यवसायमा समेत लगानी गरी सूचीकरण मार्फत सर्वसाधारणसम्म पुर्‍याउने काम समेत पीडीभीसिले गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।