२०३ किलो यार्सागुम्बा साढे १२ करोडमा बिक्री, कुन देशले कति किने ?


चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट झण्डै साढे १२ करोड रुपैयाँ बराबरको यासागुम्बा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गत साउन महिनामा १२ करोड ४७ लाख ७७ हजार रुपैयाँ बराबरको २०३ किलोग्राम यार्सागुम्बा विभिन्न मुलुकमा निर्यात भएको हो ।

विभागका अनुसार क्याम्बोडियामा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात भएको छ । ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ बराबरको १०४ किलोग्राम यार्सागुम्बा क्याम्बोडियातर्फ निर्यात भएको हो । कम्बोडियाले औसतमा ६ लाख २० हजार ९१३ रुपैया प्रतिकिलोको दरमा यार्सागुम्बा खरिद गरेको हो ।

दोस्रो स्थानमा रहेको हङकङमा ५ करोड ४ लाख ३८ हजार रुपैयाँ बराबरको ८१ किलो यार्सागुम्बा निर्यात गरिएको विभागले जनाएको छ । उक्त कारोबारमा औसत प्रतिकिलो मूल्य ६ लाख २२ हजार ६९१ रुपैयाँ कायम भएको छ ।

तेस्रो धेरै आयातकर्ता मुलुक अमेरिकाले ५० लाख २८ हजार रुपैयाँमा ८ किलो यासागुम्बा खरिद गरेको छ । अमेरिका निर्यात भएको यार्सागुम्बाको औसत प्रतिकिलो मूल्य ६ लाख २८ हजार ५०० रुपैयाँ छ ।

१९ लाख ४ हजार रुपैयाँमा बेलायत निर्यात भएको ३ किलो यार्साको औसत मूल्य ६ लाख ३४ ६६६ रुपैयाँ छ ।

१५ लाख २७ हजार रुपैयाँमा भियतनामतर्फ निर्यात भएको ६ किलो यार्सागुम्बाको औसत मूल्य भने २ लाख ५४ हजार ५०० रुपैयाँ छ ।

१२ लाख २७ हजार रुपैयाँ बराबरको २ किलो यार्सागुम्बा सिंगापुरतर्फ निर्यात हुँदा प्रतिकिलो औसत मूल्य ६ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

कोरियामा २९ हजार रुपैयाँको मात्र यार्सागुम्बा निर्यात भएको छ ।

कोरियाको विबरण बाहेकका आधारमा २०३ किलो यार्सागुम्बाको प्रतिकिलो औसत मूल्य ६ लाख १४ हजार ५२२ रुपैयाँ हुन्छ ।

गत वर्षको साउन महिनामा नेपालबाट यार्सागुम्बा निर्यात भएको थिएन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।