जनयुद्धले जन्माएका दलालीको चपेटामा ‘प्रकाश’, समाजका ठालुहरुको जालझेलको यर्थात चित्रण

0
Shares

‘प्रकाश’ चलचित्रका निर्देशक दिनेश राउतले दर्शकका लागि नयाँ स्वाद पस्किने प्रयास गरेका छन् । उनले माओवादी जनयुद्धपछि नेपाली समाजमा उत्पन्न भएका पीडाहरुलाई कुशलतापुर्वक पर्दामा उतारेर चलचित्र प्रकाश मार्फत प्रस्तुत गरेका छन् ।

१० वर्षसम्मको जनयुद्धले व्यवस्था बदलिए पनि जनताको अवस्थामा उस्तै रहेको र व्यवस्था परिवर्तन हुँदा पनि समाजका ठुलाबडा भनिनेहरुको दलाली चरित्र कायमै रहेको यर्थातलाई ‘प्रकाश’ सिनेमा मार्फत नङ्याउने प्रयास गरिएको छ । जनयुद्धले नेपाली ग्रामीण क्षेत्रमा परेको प्रभावसँगै विकास भएको दलाली र नयाँ तानासाही प्रवृत्तिलाई केन्द्रमा राखेर निर्माण भएको ‘प्रकाश’ सिनेमाले दर्शकलाई नयाँ संसारमा लैजाने प्रयास गरेको छ ।

सिनेमामा ग्रामिण क्षेत्रको प्रतिनिधिमुलक घट्ना स्थलको रुपमा जुम्लाको तिर्खुगाँउलाई लिइएको छ । मध्यम तथा विपन्न वर्गिय परिवारलाई नव सभ्रान्तहरुले कसरी फाइदा लिइरहेका छन भन्ने विषयलाई चलचित्रमा प्रष्ट देखाइएको छ ।

चलचित्रका मूख्य पात्र प्रकाशको परिवारले दुई छाकका लागि गरेको संघर्षबाट सुरु भएको चलचित्रको समापन कठोर क्षणमा पुगेर हुन्छ ।

मूख्य भुमिकामा रहेका नायक प्रदिप खड्काको भुमिका यसभन्दा अघिका चालचित्रको भन्दा निकै फरक र बेजोड छ । आफु कस्तो कलाकार हो भनेर परिक्षण समेत गर्नका लागि पहिलो पटक सामाजिक चरित्रमा अभिनय गरेका छन् । जीवन कयौ असह्य पिडाहरुको संगालो भन्दा फरक नपर्ने ‘प्रकाश’ को भुमिकालाई प्रदिपले अभिनय कौशलता मार्फत न्याय दिलाएका छन् । 

द्धन्द्धकालमा पिता वेपत्ता भएपछि एकल आमाको मेहेनतले उच्च शिक्षा हासिल गरेको ‘प्रकाश’ को सपना शिक्षक बन्ने हुन्छ । प्रकाशको मात्र नभई उसका बा र आमाको पनि छोरा शिक्षक भएको देख्ने दृढ चाहाना हुन्छ । प्रकाशको शिक्षक बन्ने विषयमा माओवादी जनयुद्ध, समाजिक विकृती, अवसरका लागि राजनीतिक आस्था परिवर्तन गर्ने पात्रहरुले नकारात्मक भुमिका निवार्ह गर्छन । त्यसैगरी सिनेमाले अन्तरजातिय प्रेम कहानी, जुम्लावासीको जिवन संघर्षलाई जस्ताको त्यस्तै पर्दामा उतारेको छ । चलचित्र हेर्दा पनि दर्शकको मानसपटलमा एक पछि अर्को गर्दै धेरै कौतुहलता पैदा गर्ने खालको छ । दर्शकमा निरन्तर कौतुहलता पैदा गराउने भएकाले पनि चलचित्र सुरुभएदेखि अन्तिमसम्म हेर्दा समय वितेको पत्तै हुँदैन ।

विपन्न परिवार गाँउका ठुला बडासँंग कसरी परनिर्भर छन भन्ने विषयलाई समेत स्पष्टसंग देखाइएको यस चलचित्रले युवाहरुको हटलाइ पनि उत्तिकै महत्व दिएको छ । नायक प्रदिप खड्काकी आमाको भुमिकामा रहेकी दिया मास्केको अभिनयले सिनेमालाई थप परिस्कृत गरेको छ । सीताको भुमिकामा रहेकी मास्केले आफुलाई पति नहँुदाको पीडा र छोरालाई सक्षम बनाउने सपना बीचको संघर्षमा जीवन वितेको थाहा नै पाँउदिनन् । आमा भन्ने वित्तीकै सहनशिल, मृदुभाषी र ममताको खानी हुन भन्ने विषयलाई बलियोसंग स्थापित गर्न सीताले कुनै कसर बाँकी राखेकी छैनन् ।

विपन्न परिवारले दैनिक जीविकाका लागि ठुला बडाहरुकोमा काम गर्नुपर्ने बाध्यता परिर्वतन गर्न भएको युद्धमा पति गुमाँउदा सीताको दैनिकी झनै जटिल बन्छ । युवा रगतलाई समेत सम्झाउदै सीताले प्रकाशलाई ठुलाबडासंग झुक्न सिकाउँछिन । तर, युवा छोराको हटलाई सहदै ठुलाबडाको पक्षपोषण गर्ने प्रयास भने सीताको सफल हुँदैन ।

समग्रमा प्रकासले जुम्लाको गरिव परिवारको विषयलाई उठाएको भएपनि यसले सम्पुर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्छ । परिवर्तनका लागि युद्ध गरेका मध्यम तथा निम्न वर्गिय परिवारले अवसरबादीहरुका कारण भोग्नु परेको पीडाको विषयलाई निर्देशक राउतले दर्शकले बुझ्ने गरी पर्दामा उतारेका छन्।

निर्देशकले सिनेमालाई जीवन्त बनाउनका लागि सुटिङकै समयको अडियोलाई प्रयोग गरेका छन । चलचित्र छायाङकन स्थल विकट भएकाले होला सिनेमा हेर्दै जाँदा प्रयाप्त पुर्वाधार अभावमै छायाङकन भएको आभास भने कहिकहि हुन्छ ।

प्रकाश भदौ १० गते शुक्रबार देखि विश्वव्यापी प्रदर्शनमा आएको छ । चलचित्रको शिर्षकले भित्री कथालाई भन्दा पनि मूख्य पात्रलाई मात्र चरितार्थ गर्दछ । त्यसैले चलचित्र हेर्नु अघि र हेरीसकेपछि दर्शकको मन मस्तिष्कमा छुट्टै तरङग पैदा गर्ने क्षमता चलचित्र प्रकाशले राखेको छ । यसकारण पनि ‘प्रकाश’ चलचित्रले दर्शकलाई निरास बनाउने छैन ।

महेन्द्र अधिकारीद्धरा निर्मित चलचित्र ‘प्रकाश’को एसोसीएटेड डाइरेक्टरको रुपमा ज्ञान थापा रहेका छन् । चलचित्रको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’को छुट्टै क्रेज देखिएको छ । मुख्य पात्रको माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।