जीवन बीमालेख ५२ प्रतिशतले बढ्दा कुल बीमाशुल्कमा १६ प्रतिशत वृद्धि


अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा बीमाको बजारमा राम्रो सुधार देखिएको छ ।

बीमा समितिका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कूल जीवन बीमालेख ५२ प्रतिशतले वृद्धि भएको छ भने कूल निर्जीवन बीमालेख २ प्रतिशतले र कूल बीमाशुल्क संकलन १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार गत आव २०७८।७८ मा कुल २७ लाख ८८ हजार १८ वटा निर्जीवन बीमालेख र १ करोड ३० लाख ९९ हजार ६३२ वटा जीवन बीमालेख गरी कुल १ करोड ५८ लाख ८७ हजार ६५० वटा बीमालेख जारी भएका छन् । जुन अघिल्लो आवको तुलनामा निर्जीवन बीमालेख ५६ हजार २४५ वटा र जीवन बीमालेख संख्या ४४ लाख ८६ हजार ७८२ वटाले बढेको हो । कुल बीमालेख संख्या औसतामा ४०.०५ प्रतिशत बढेको छ । निर्जीवन बीमालेख २.०६ र जीवन बीमालेख संख्या ५२.०९ प्रतिशत बढेको छ । नीतिगत एवं कानूनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै बढ्ने अपेक्षा समितिले गरेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार गत आव २०७८।७८ मा कुल बीमाशुल्कमा १६.४८ प्रतिशत वृद्धि भएको छ । गत आवमा जीवन तथा निर्जीवन बीमा कम्पनीले गरी कुल १ खर्ब ७७ अर्ब ८१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । जसमा जीवन बीमा कम्पनीहरुले १४.६३ प्रतिशतले बढाउँदै १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा निर्जीवन बीमातर्फ २३.५६ प्रतिशतले कुल बीमाशुल्क वृद्धि भई ३९ अर्ब १७ करोड रुपैयाँ कुल संकलन भएको छ ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा निर्जीवन बीमातर्फ कुल बीमाशुल्क ३१ अर्ब ७० करोड रुपैयाँ गरी कुल १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको शाखा कार्यालयको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १४.७६ प्रतिशतले बढेर ३ हजार ३६६ पुगेको छ । बीमा क्षेत्रको रोजगारी १०.३१ प्रतिशतले बढेर ११ हजार ८६१ पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।