तारा एयरको ९ महिनाको आम्दानी ६५ करोड, नकारात्मक नेटवर्थ झनै बढ्यो

0
Shares

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण दुई वर्ष घाटामा गएको तारा एयरलाइन्सको आम्दानीमा सुधार हुन थालेको छ । कम्पनीले सन् २०२१ को कुल आम्दानी भन्दा २०२२ को ९ महिनामा बढी आम्दानी गरेको हो ।

सन २०२१ मा कम्पनीले ४७ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । तर, सन् २०२२ को ९ महिनामा कम्पनीले करिब ६५ करोड आम्दानी गरेको छ । सन् २०२२ को नौ महिनामा तारा एयरको आम्दानी प्रि–कोभिड समयको ६० प्रतिशत हो ।

सन् २०२१ मा ४७ करोड आम्दानी गरेको तारा एयरले सन् २०२२ को नौ महिनामा उक्त रकम ३७.४५ प्रतिशतले बढेर ६७ करोड ६० लाख हुन पुगेको छ ।

नेपालको दुर्गम हिमाली क्षेत्रमा उडान भर्दै आएको तारा एयरलाइन्सले लुक्ला, सिमीकोट, रारा क्षेत्रमा गरेको उडानबाट वार्षिक आम्दानीको कुल ५२ प्रतिशत आम्दानी गर्ने गरेको छ । नौ महिनाको कुल आम्दानीको ४२ प्रतिशत आम्दानी यी तीन क्षेत्रमा भरेको उडानबाट गरेको छ ।

सन् २०२२ को अप्रिलमा कम्पनीको नेटवर्थ २४ करोड ७० लाख रुपैयाँले नकारात्मक रहेको छ । कम्पनीको नकारात्मक नेटवर्थ क्रमिक रुपमा वृद्धि भएको देखिन्छ । सन् २०१९ जुलाइमा कम्पनीको नेटवर्थ १६ करोड ३० लाख रुपैयाँले नकारात्मक थियो ।

सन् २०२२ को मे २९ मा तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएपछि त्यसको असर आम्दानीमा परेको छ । यसैगरी हिमाली क्षेत्रमा मात्रै उडान भर्ने हुँदा मौसमको प्रतिकूलता, पर्यटकहरुको सङ्ख्यामा हुने वृद्धि तथा गिरावट जस्ता तत्वहरुले पनि आम्दानीलाई प्रभाव पारेको छ ।

सन् २०२२ मा कम्पनीको आम्दानीमा आएको सुधार सँगै रेटिङ एजेन्सीले वाच लिस्टमा राखेकोमा त्यो पनि हटाएको छ । इक्रा रेटिङ नेपालले कम्पनीको बैंक ऋणका लागि रेटिङ गर्दा “वाच वीथ नेगेटिभ इम्प्लीकेसन्स” ग्रेड दिएको थियो । हाल कम्पनीलाइ इक्राले दीर्घकालीन ऋणको लागि एलबी रेटिङ पाएको छ भने अल्पकालीन ऋणको लागि ए४ रेटिङ दिएको छ । यससँगै यस वर्षको लागि कुल ९८ करोड ८३ लाख ऋण इक्रा रेटिङ नेपालले पुनः पुष्टि गरेको छ ।

कम्पनीको सन् २०२२ को ९ महिनाको एमोर्टाजेसन, डिप्रिसिएसन, ब्याज र कर सहितको सञचालन नाफा १० करोड ४० लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको एमोर्टाजेसन, डिप्रिसिएसन, ब्याज र कर सहितको सञ्चालन नाफाको ९.६५ गुणा कर्जा रहेको छ । तर, कम्पनीको नगद प्रवाह अवस्था भने तुलनात्मक रुपमा कमजोर रहेको देखिएको छ ।

हवाईजहाजको सम्पूर्ण पाटपुर्जा बाहिरबाट नै आउने, डलरमा किन्नु पर्ने भएका कारण तारा एयरको युएस डलरमा ऋण क्रमिक रुपमा बढ्न पुगेको छ । यसैगरी कम्पनीको तरलताको अवस्था पूर्णरुपमा बलियो नभएको र केही महिनापछि नै कर्जा भुक्तानी गर्नुपर्ने जस्ता चुनौतीहरु तारा एयरका रहेका छन् ।

सन् २००८ मा छोटो उडान र अवतरण (स्टल) गर्ने उद्देश्यका साथ तारा एयर यति एयरलाइन्सको भगिनी संस्थाका रुपमा सञ्चालनमा आएको थियो । तारा एयरको अध्यक्ष लाक्पा सोनाम शेर्पा रहेका छन् भने प्रबन्ध निर्देशक चन्दा शेर्पा रहेकी छिन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।