२४ घण्टाभित्र बक्यौता कर नतिरे महानगरले काठमाण्डौं फनपार्कमा सिलबन्दी गर्ने


काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सबै बक्यौता कर तिर्न काठमाण्डौं फन पार्कलाई निर्देशन दिएको छ । तोकिएको समयमा कर नतिरेको खण्डमा प्रदर्शनीमार्गमा सञ्चालित फनपार्कमा सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको हो ।

महानगरपालिकाको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न फनपार्कलाई पत्र काट्दै विगतमा जस्तो अटेर गरेको खण्डमा सिलबन्दी गरिने चेतावनी दिएका हुन् ।

फनपार्कले सञ्चालन वर्षैंदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरिरहेको महानगरले जनाएको छ ।

पटकपटक ताकेता गर्दा पनि कर नबुझाएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन महानगरले फन पार्कलाई अनुरोध गरेको हो ।

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएपछि २०७५ सालदेखि महानगरपालिकालाई कर बुझाउनु पर्नेमा हालसम्म कुनै कर नबुझाएको महानगरले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।