फेडको व्याजदर बढाउने निर्णयले एशियाली सेयरबजार ओरालो गतिमा


अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले सेप्टेम्बर महिनामा ब्याजदर वृद्धि गर्ने जानकारी दिएसँगै एशियाली सेयर बजार आरालो लागेको छ ।

यसैगरी अमेरिकी श्रम बजारको वर्तमान अवस्थाको प्रतिवेदन सार्वजनिक हुनु अघि एशियाली सेयर बजार घटेको हो । श्रम बजारको अवस्था हेरेर नै फेडले ब्याजदर कति प्रतिशतले वृद्धि गर्ने भन्ने निर्धारण गर्छ । रोजगारीका अवसरहरु सिर्जना हुँदै गए पनि अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत छ ।

जापान बाहिरको एशिया प्यासिफीक क्षेत्रको बृहत सेयर सूचकांक एमएससीआई शुक्रबार ०.५ प्रतिशतले घटेको छ । जुन महिनामा सकरात्मक सुधार आउँदा ३.६ प्रतिशतले बढेको एमएससीआई सूचकांक फेडले संकुचित मौद्रिक नीति अवलम्बन गरसँगै ओरालो लागेको हो ।

यसैगरी जापानी सेयर सूचकांक निकेइ ०.१ प्रतिशतले घटेको छ भने चीनको ब्लुचीप्स सूचकांक ०.५ प्रतिशतले ओरालो लागेको छ । हङकङ्को ह्याङस्याङ सूचकांक १.० प्रतिशतले घटेको छ भने दक्षिण कोरियाली सेयर सूचकांक स्थिर रहेको छ । एशियाली सेयरबजार ओरालो लागेको बेला नेपालको सेयर सूचकांक नेप्से ५ अंकले घटेर १९६७ अंकमा पुगेको छ ।

४० वर्ष यताकै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रणमा केन्द्रीय बैंकहरुले आक्रामक रुपमा औसत ब्याजदर बढाइरहेका छन् । फेडका अध्यक्ष जेरोम पावेलले आफूहरु मूल्यवृद्धि नियन्त्रण गर्न तल्लीन भएर लागेको र मन्दीको प्रवाह नगर्ने बताउँदै आएका छन् ।

फेडले औसत ब्याजदर बढाउँदा हतोत्साहीत हुने गरेका लगानीकर्ताहरु अहिले संयम भएर लगानी गर्न लागेका छन् । यही सन्दर्भमा कमनवेल्थ बैंकका कृषि रणनीति निर्देशक टोबिन गारेले फेडले मुद्रास्फीति नियन्त्रण गर्न अपनाउने नीतिसँग जुझ्न सेयरबजार तयार रहेको जनाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।