जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिको म्याद थप्न उर्जा उत्पादकहरुको आग्रह


उर्जा उत्पादकहरुले जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिको म्याद थप गरिदिन आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वित्तीय व्यवस्थापन, उर्जा अनुमती पत्र, व्यवसायिक उत्पादन मितिका म्यादहरु नबीकरण गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले मन्त्रालयसँग सर्वेक्षण अनुमतीको म्याद २ वर्ष थप गरिदिन आग्रह गरेको हो ।

ईप्पानका कार्यवाहक अध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा महासचिब गोरे शेर्पा, सचिब रामप्रसाद आचार्यको टोलीले मन्त्रालय पुगेर मागपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिब मधुप्रसाद भेटुवालको संयोजकत्वमा २०७७ भदौ २२ गते गठित समितिले सर्वेक्षण अनुमति पत्र, व्यवसायिक उत्पादन मिति, उत्पादन अनुमति पत्र र बित्तीय ब्यवस्थापन लगायतको म्याद थपका लागि सिफरिस गरेको थियो । उक्त सिफारिसका आधारमा मन्त्रालयले सर्वेक्षण अनुमति पत्रबाहेक अरुको म्याद थप गर्ने निर्णय गरेको थियो ।

समितिले सिफारिस गरे पनि ऐन संशोधन नगरी सर्वेक्षण अनुमति पत्रको म्याद थप हुन नसकेको जनाएको इप्पानले यसबाट धेरै आयोजनाहरु अघि बढ्न नसकेको जनाएको छ । कोभिड–१९ ले बिदेशी परामर्शदाता दुई बर्षसम्म आउन नसक्दा तथा स्वदेशी परामर्शदाता पनि कार्यस्थलमा जान नसक्नु, राष्ट्रिय निकुन्ज तथा आरक्षण क्षेत्र र संरक्षण क्षेत्रमा परेका धेरै आयोजनाहरुलाई ति निकायहरुले इआईए तथा आईईईको अनुमतिनदिनु लगायत कारणहरुले अधिकाँश आयोजनाहरुको सम्भाव्यता अध्ययनको काम प्रभाबित भएको ईप्पानको भनाई छ ।

यस्तो समस्याले सर्वेक्षण अनुमति पत्रको अवधिभित्र संभाब्यता अध्ययनको काम सम्पन्न हुन नसक्ने अवस्था बनेकोतर्फ ईप्पानले मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

यसअघि भएका छलफलमा विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्रको ५ वर्षको अध्ययन अवधी समाप्त भएपछि पुनः तिनै कम्पनी वा प्रबद्र्धकहरुले आबेदन गरेमा २ वर्ष अवधि थप गरिदिन ईप्पानले आग्रह गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।