दश दिनभित्र सम्पत्ति कर बुझाउन १७ संस्थालाई महानगरको अल्टिमेटम


काठमाडौं महानगरपालिकाले १७ वटा संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएको छ । मंगलबार महानगरपालिकाले पत्र काट्दै विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्पत्ति कर बुझाउन भनेको हो ।

महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सरकारी संस्थानसहितका विभिन्न संस्थाहरुलाई सम्पत्ति कर बुझाउन अल्टिमेटम दिँदै पत्र काटेका हुन् । पछिल्लो पटक काठमाडौं फनपार्क र ७ वटा क्यासिनोहरुलाई कर तिर्न पत्र पठाएको महानगरले विभिन्न क्षेत्रका संस्थाहरुलाई पत्र काटेर कर तिर्न आग्रह गरेको हो ।

महानगरका अनुसार खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, नेपाल चेम्बर अफ कमर्सलाई १० दिनभित्र तोकिएका कर बुझाउन पत्राचार गरेको हो । त्यसैगरी कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर.वि. कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज, सामाखुशीलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरले जनाएको छ ।

“काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवाना सहित बुझाउनु हुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूलउपर गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ’ अधिकारीले जारी गरेको पत्रमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।