२०२२ संस्करणको ‘नेक्स्ट जेन फोर्ड रेन्जर’ नेपाली बजारमा, १ करोड ५ लाख ९० हजारदेखि मूल्य सुरु


जि.ओ. अटोमोबाईल्स् प्रा. लि. ले २०२२ संस्करणको २.० लि. सिङगल टर्बो र बीआई टर्बोयुक्त ‘नेक्स्ट जेन फोर्ड रेन्जर’ नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक भएको दाबी गर्दै कम्पनीले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा ख्याती कमाएको बताएको छ ।

नेक्स्ट जेन फोर्ड रेन्जर अन रोड तथा अफ रोडमा आनन्ददायी सवार गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । अफ– रोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिनका कारण यो पिकअप हरेकको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

‘ट्रान्समिसन : ६ र १० एटी स्पीड ट्रान्समिसन’

नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध गराइएको छ । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गियर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरिएका छन् जसले टोईङ्ग वा भारी सामान सहित यात्रा गर्दा नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुमति दिने विज्ञप्तिमा उल्लेख छ । यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी चलाउन थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ ।

‘अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किंग ब्रेक’

रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पी, आर, एन, डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् । ईलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचर हो ।

‘सेलेक्टेबल ड्राइभ मोड’

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो/हौल र स्लिपरी, मड÷रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एबीएस र थप सबै कुरामा समायोजन गर्दछ ।

‘न्यु सिंक डिस्प्ले र बटन लेआउट’

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । तपाईले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सक्नुहुनेछ । एउटा डायल थिची तपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ताकी गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस् । यसको सरल लेआउटले अन्य फिचरहरु पनि सजिलै चलाउन सकिन्छ ।

‘वाटर वेडिंग’

नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ । नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुबै तर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ ।

‘अन्डरबडी प्रोटेक्सन’

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ । नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ । प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ । यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ ।

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको मूल्य एक्स् एल मोडेलको १ करोड ५ लाख ९० हजार, एक्स एल टीको १ करोड १९ लाख ९० हजार र वाइल्ड ट्रयाकको १ करोड ४५ लाख ९० हजार रुपैंया निर्धारण गरिएको छ ।