चौथो पटक घटेर आयो इन्धनको मूल्य, नघटाउने ‘मुड’ मा निगम


भारतीय आयल कर्पोरेशन (आईओसी) ले मूल्य बढाएर पठाउँदा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको नेपाल आयल निगमले घट्दो मूल्यमा नोक्सान भरपाई गर्दै आएको छ ।

शुक्रबार पनि आईओसीले निगमलाई घटेको मूल्य अनुसार मूल्यसूची पठाएको छ । यद्यपी घटेको मूल्यका सम्बन्धमा आयल निगमले जानकारी सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

घटेर आएको मूल्यसूचीको विबरणमा जिज्ञासा राख्दा नोक्सानीको विषयमा मात्र प्रतिकृया दिने गरेसँगै निगमले यस पटक पनि पेट्रोलीय पदार्थको मूल्य नघटाउने देखिएको हो ।

भारतीय आयल कर्पोरेशन (आईओसी) ले शुक्रबार मात्र पेट्रोलीयम पदार्थको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । निगमका अनुसार शुक्रबार आईसीले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

निगमका अनुसार शुक्रबार आईओसीले पठाएको मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसाले घटेको छ । त्यसैगरी प्रतिलिटर डिजेलमा ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा हुनेछ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा हुनेछ । यस अघिको मूल्यका आधारमा निगमको मासिक घाटा ६१ करोड रहेकोमा शुक्रबार प्राप्त नयाँ मूल्य अनुसार मासिक घाटा २० करोड पुग्ने निगमका एक अधिकारीले जानकारी दिए ।

लगातार चौथो पटक इन्धनको मूल्य घटेर आए पनि निगमले भने नेपालमा यस अघि तीन पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो । चौथो पटक पनि पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत निगमले गरेको हो । ती अधिकारीका अनुसार निगमले आईओसीलाई २७ अर्ब बक्यौता भुक्तानी गर्न बाँकी छ । “निगम ब्रेक इभनमा आउन सकिरहेको छैन, ४० अर्बभन्दा बढी रकम बक्यौता छ” ती अधिकारीले भने ।

निगम सञ्चालक समितिको बैठकले निगमको दायित्वका आधारमा अझै मूल्य समायोजनको निर्णय नलिने संकेत निगम सम्बद्ध अधिकारीको भनाईले देखाउँछ ।
यता चाड पर्वको समयमा इन्धनको मूल्य घटाउन विभिन्न पक्ष तथा उपभोक्ताले माग गर्दै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।