“सरकारबाट उद्योग व्यवसाय सबलीकरणमा कुनै पहल भएन”- मोरङ व्यापार संघ


आर्थिक कृयाकलापहरु सुस्त बन्दै गइरहेको अवस्थामा सरकार तथा सम्बद्ध पक्षले उद्योग व्यवसायको सबलीकरणमा सरकारले चासो नदेखाएको मोरङ व्यापार संघले जनाएको छ । शुक्रबार संघले बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको अवस्थामा सुधार नगरे उद्योग व्यवसाय धरापमा पर्न गई मुलुकको अर्थतन्त्रमा प्रतिकुल असर पर्नेतर्फ संघले सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो ।

विद्यमान बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारको स्थितिप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै संघले तिब्रदरमा बढेको मुल्यवृद्धि नियन्त्रणमा पहल गरिनुपर्ने बताएको छ ।

बैंक वित्तीय संस्थालाई धेरै केन्द्रमा राखेर उद्योगी व्यवसायीलाई कस्ने नीति अबलम्बन गरिएको भन्दै संघले राष्ट्र बैंकको पनि ध्यानाकर्षण गराएको छ । छिमेकी राष्ट्र बंगलादेश र भारतले अर्थतन्त्र सुदृढिकरणका लागि उद्योगी÷व्यवसायीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा नेपालमा त्यसको ठिक विपरीत नीतिहरु देखिनु दुःखदायी छ, संघले भनेको छ ।

चर्किंदै गएको बैंक व्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाईले औद्योगिक तथा व्यवसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको स्मरण गराएको संघले लगानी योग्य पूँजीको अभावमा उद्योग तथा व्यवसायहरु क्षमता अनुरुप सञ्चालन हुन नसक्ने अवस्थातर्फ जान थालेको जनाएको छ ।

विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुशी ४ प्रतिशतसम्म स्पे्रड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ, संघले भनेको छ । बैंकहरुको नाफा र उद्योग व्यवसायका साथै उपभोक्ताको अवस्था कमजोर बन्दै गइरहेकोप्रति सरकार र राष्ट्र बैंकले चासो नदिएको संघको आरोप छ । यसले उद्योगी व्यवसायी होत्साहित भईरहेकोतर्फ पनि संघले ध्यानाकर्षण गराएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरुले औद्योगिक तथा व्यवसायीक वातावरणलाई प्रत्यक्ष प्रभाव पारेको भन्दै संघले त्यसलाई तत्कालै सुधार गर्न पनि माग गरेको छ । चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिए पनि सम्बोधन नभएको भन्दै संघले एकल अंकको व्याजदर कायम गर्नु पर्ने, औद्योगिक तथा व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनु पर्ने, संस्थागत व्याजदर कम गरिनु पर्नेमा जोड दिएको छ ।

त्रुटीगत करका नीतिहरु सहित विभिन्न कारणले स्वदेशमा मंहगी बढिरहेको भन्दै संघले सीमा पारीका बजारहरु गुल्जार हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग तथा यवसाय थप प्रताडित भएको भन्दै संघले स्वदेशी बजारको सुरक्षा एवं सु–व्यवस्थापनका लागि सरकारले ठोस नीति अवलम्बन नगरेको जनाएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।