दुईपटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल

0
Shares

विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पु¥याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ ।

यो प्रतिनिधिसभा विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुईपटक विघटन भयो र दुवैपटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको हो । संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधिसभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुनेछ ।

शनिबार प्रतिनिधिसभाको ११ औँ अधिवेशनको अन्तिम दिनको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसद्को विघटन र पुनःस्थापना सम्भवतः विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो । पूर्ण कार्यकाल चलेको यस प्रतिनिधिसभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ ।”

प्रतिनिधिसभाको यस कार्यकालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा सङ्घीय संसद, प्रतिनिधिसभामा दलहरूबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहनेछ । यही कार्यकालमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न सङ्कटका बेलामा समेत तोकिएका जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै बैठक सञ्चालन गरिएको थियो ।

सङ्घीय संसद्को नेतृत्व, संसदीय मैत्री समूहहरूबाट अन्तर व्यवस्थापिका सङ्घ, असंलग्न आन्दोलन संसदीय अभियान लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको संसद्का तर्फबाट भएको सहभागिता र सम्बोधनले सङ्घीय संसद्लाई विश्वभर परिचित गराउन सफल भएको उहाँको भनाइ थियो । साथै यस अवधिमा विभिन्न देशबाट नेपाल आएको संसदीय प्रतिनिधिमण्डलसँगको भेटवार्ता र अन्तक्र्रियाले एक–अर्काको असल संसदीय अभ्यासका विषय आदान–प्रदानमा सहयोग पुगेको छ ।

प्रतिनिधिसभाका सभामुखको निमन्त्रणालाई स्वीकार गरी छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले गर्नुभएको नेपाल भ्रमण, सङ्घीय संसद् भवनमा भएको शिष्टाचार भेट, द्विपक्षीय वार्ता, त्यस क्रममा सङ्घीय संसद्, प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तरसंसदीय सहकार्यका लागि भएको समझदारी कोसेढुङ्गा बनेको छ ।

यस कार्यकालमा मिनी संसद्का रूपमा रहेका समितिहरूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहन पुगेका छन् । उहाँले सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थिति, सक्रिय सहभागिता र परामर्शका लागि माननीय सदस्यहरूले खेल्नुभएको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

सङ्घीय संसद् र सातवटै प्रदेशका प्रदेशसभा सञ्चालनसम्बन्धी अनुभव आदान–प्रदान एवं अन्तक्र्रिया र ती कार्यक्रमबाट आएका निष्कर्षले संसद्लाई थप जीवन्त र जनमुखी बनाउन सहयोग पुगेको छ ।

संसद्को सफलतामा दलहरूबीच उच्च समझदारी र सहकार्य आवश्यक छ । ११ औँ अधिवशेनमा उल्लेखनीय कार्य भएको तथ्यले पनि दलहरूबीच उच्च समझदारी बन्दा संसद्ले गति लिने यथार्थ पुनःपुष्टि भएको सभामुखले उल्लेख गर्नुभयो । यही समझदारीले सहकार्यमा आधारित राजनीतिक संस्कृतिको विकास र विस्तार आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने उहाँको विश्वास छ ।

सभामुख सापकोटाले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने यो सर्वोच्च थलोको महत्व र गरिमा बढाउन सभामा प्रतिनिधित्व गर्ने दल एवं सदस्यहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्ने यथार्थ पक्कै महसुस गरेका छौँ भन्नुभयो । यस अवधिमा जनताले सुम्पेका गहन जिम्मेवारी वहन गर्न हामी कति सक्षम भयौँ, इतिहासले पक्कै समीक्षा गर्ने उहाँले बताउनुभयो ।

उहाँले आगामी मङ्सिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष ढङ्गले सफल बनाउन हामी सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्दै यस अवधिमा सङ्घीय संसद्, प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरूमा सदस्यहरूबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गर्नुभयो ।

चालु ११ औँ अधिवेशनमा १४ विधेयक पारित

सङ्घीय संसद् प्रतिनिधिसभाको एघारौँ अधिवशेनको पहिलो बठैक विसं २०७९ जेठ ३ गते मङ्गलबार प्रारम्भ भई २०७९ असोज १ गते शनिबारसम्म जम्मा एक सय २४ दिन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसी जम्मा २५१ घण्टा १५ मिनेट ससंदीय काम कारबाहीमा व्यतित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यही अधिवेशनमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बठैक दुईपटक बसी चार घण्टा ४५ मिनेट समय व्यतित भएको थियो ।

त्यसैगरी यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट जम्मा ४२ वटा विधेयकहरू प्राप्त भएका थिए । जसमध्ये १६ वटा विधेयक सभाबाट पारित भएका छन्, सातवटा विधेयक विभिन्न समितिमा विचाराधीन रहेका छन्, सातवटा विधयेक सभामा प्रस्तुत मात्र भएको अवस्थामा छन् भने ११ वटा विधेयक दर्ता मात्र भएका छन् ।

संसद् पूरा कार्यकालसम्म जोगाउन सफल भयौंः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गरे ।

उनले भने “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने अवस्थाबाट जोगाएका छौँ । अकाल मृत्यु भोग्नुपर्ने अवस्थामा सदन पुगेको थियो । त्यो अवस्थाबाट सदन बचेको छ । जनता, नागरिक समाजले सडक आन्दोलन गरेर र अदालतले संसद् जिवित गरायो ।”

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले पाँच वर्ष प्रतिनिधिसभा जसरी चल्नुपर्ने थियो त्यसरी चल्न नसकेको बताए । “यो पाँच वर्ष जसरी व्यतित हुनुपर्दथ्यो । त्यो हुन सकेन । दुईपटक संविधान विघटन भयो । सात महिना चलेन”, उनले भने, “संविधान अनुसार स्थायी र समृद्धिको यात्रा अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर दुर्भाग्य त्यस्तो भएन । तीन वर्ष नपुग्दै तत्कालीन सरकार अगाडि जान सकेन ।”

अध्यक्ष दाहालले अब भविष्यमा लोकतन्त्रको मान्यताअनुसार संसद् सञ्चालन हुनुपर्ने धारणा राखे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने सबै राजनीतिक दलले लाग्नुपर्ने भन्दै जनताको फैसला सबैले स्वीकार गर्ने उनले बताए ।

अध्यक्ष दाहालले आउने दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समृद्धिका मुद्दामा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले संविधान अनुसार अर्को सरकार बन्ने सम्भावना भए पनि संविधानको भावना, लोकतन्त्रको मान्यताविपरीत तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्नुभयो । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर विरोधलाई समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

“हामीसँग बहुमत थियो । पार्टीभित्र छलफल चलिरहेको थियो । तर केले उत्प्रेरित ग¥यो उहाँलाई त्यतिबेलाको संसद् विघटन गर्नका लागि ?”, अध्यक्ष दाहालले भने, “तर उहाँले पार्टीभित्र मतभेद, अन्तरविरोध हुन्छन । ती समाधान हल गर्ने आफ्नै मान्यता हुन्छ । त्यहाँको विरोधलाई सार्वभौम थलो प्रतिनिधिसभालाई प्रहार गर्ने अधिकार ओलीलाई कसले दियो ?”

देशलाई ठूलो संवैधानिक सङ्कटबाट बचाउन, लोकतन्त्रको रक्षा गर्न र अघिल्लो सरकारले असंवैधानिकरुपमा चालेका कदमलाई सच्याउन अहिलेको गठबन्धन सरकार बनेको अध्यक्ष दाहालको भनाइ थियो । गठबन्धन सरकारले जनताको भावनाअनुसार स्थानीय तहको निर्वाचन गरेको उल्लेख गर्दै अब संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्रन वर्तमान सरकार लागिपरेको बताए ।

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराउनुभयो ।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।