दीर्घकालीन लागत बढाउने प्रतिस्पर्धामा बैंकहरू, ब्याजदर वृद्धिको अवधि लम्बाउँदै

0
Shares

वाणिज्य बैंकहरूको प्रतिस्पर्धाका कारण आएका नयाँ योजनाहरूले दीर्घकालसम्म ब्याजदर बढाई राख्ने देखिएको छ । बैंकहरूले निक्षेप राखेको रकम समयावधि तोकी गुणाका दरले भुक्तानी दिने गरी सञ्चालनमा ल्याएका योजनाले ब्याजदरको वृद्धिक्रम लामो समय कायम राख्न प्रोत्साहन गरेको हो ।

बैंकिङ प्रणालीमा बढेको तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या जटिल बन्दै गएपछि बैंकहरूले नयाँनयाँ अभ्यास गर्दै आएका छन् । नीतिगत छिद्र खोज्दै बैंकहरूले बोल्ने र गर्ने व्यवहार फरक गर्ने गरेका छन । बैंकहरुले भित्रि रुपमा गलत अभ्यास बढाएपछि एक बैंकको निक्षेप अर्को बैंकले खोस्ने प्रवृत्ति बढ्यो । त्यसपछि बैंकर्स संघले असोज महिना देखि ब्याजदरको भद्रसहमति टुटाउने निर्णय गर्यो ।

भद्र सहमति टुटेसँगै आधिकांश बैंकहरूले जोखिमको नजर अन्दाज गर्दै उच्च ब्याजदर सहित २० वर्ष सम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् । त्यतिमात्र नभई बैंकहरू मुद्दती योजनामा समयावधि अनुसार निक्षेप राखिएको रकमको २ देखि १०० गुणासम्म भुक्तानी दिने योजनाहरू सञ्चालनको प्रतिस्पर्धामा छन् ।

यस्ता खालका योजनाहरूले तत्कालका लागि स्रोत जुट्न सक्ने भएपनि समग्र प्रणालीमा दीर्घकालीन असर गर्ने बैंकरहरू बताउँछन् । बैंकहरूले ल्याएका त्यस्ता योजनाले स्रोतको लागत बढ्ने मात्र नभई ब्याजदर वृद्धिको क्रमलाई समेत लम्बाएको एक बैंकरले बताए । “यी योजनाहरूमा बैंकहरूले ब्याजदर गणनाको खेल खेलेका छन,” ती बैंकरले भने,“यस्तो योजनाहरू आउँदा बैंकिङ क्षेत्रका लागि राम्रो होइन तर, व्यक्तिका लागि भने धेरै लाभदायक छ ।” यस्तो योजनामा लगानी गर्दा विशेष ध्यान दिएर हिसाब गरेर मात्र लगानी गर्न समेत उनले सर्वसाधारणलाई सुझाए ।

यस्ता योजनाले समग्र देशको अर्थतन्त्रलाई भने नकारात्मक असर गर्ने बताउँदै ती बैंकरले भने,“यसले आगामी २ दशकसम्म घट्न सक्ने ब्याजदरलाई घट्न नदिने भयो, उत्पादन नहुने आयात बढ्ने अवस्थाको निरन्तरता हुने भयो ।” यसले कर्जाको ब्याजदर बढाउने भएकाले उत्पादनको लागत पनि बढी पर्न जान्छ । त्यसका साथै मूल्य वृद्धिलाई समेत बढावा दिने स्पष्ट छ । यो योजना एक बैंकको निक्षेप अर्काले नलैजाओस भनेर ल्याएको भएपनि यसले समग्र बैंकिङ क्षेत्रका लागि जोखिम बढाएको उनको बुझाई छ ।

अहिले २० वर्षका लागि निक्षेप लिदाँ भोलिका दिनमा तरलता बढ्न थाल्यो र ब्याजदर घट्ने अवस्था आयो भने लागत बढी भइ राख्ने हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बताए । “यस्तो येजाना ल्याउनु भनेको धेरै जोखिम पुर्ण काम हो,” राणाले भने,“बैंकहरुले निक्षेप बढाउन तथा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भित्र राख्न यस्ता योजना ल्याउनै पर्ने बाध्यता भएको बताउँने गरेका छन् ।” यस्ता योजना ल्याउनु भनेको बैंकहरूको कमजोर जोखिम विश्लेषणको नतिजा रहेको पनि उनले बताए । यस्ता योजनाले निक्षेपकर्तालाई भने फाइदा हुने उनको बुझाई छ ।

बैंकहरूले स्रोत संकलनका लागि ल्याएका यस्ता योजनाको सन्दर्भमा पुर्व बैंकर परशुराम कुँवर क्षेत्री भने गम्भिर रुपमा लिन आवश्यक नरहेको बताउँछन । बैंकहरूले निक्षेपको दोब्बर भनेपनि सय गुणा भनेपनि त्यो ब्याजदरको चक्कर रहेको बताउँदै उनले भने,“ बैंकहरुसंग दीर्घकालीन निक्षेप धेरै छैन । बैंकिङ प्रणालीको कुल निक्षेप मध्ये आधा भन्दा धेरै मुद्दती निक्षेप रहेको छ । यसमा पनि एक वर्षको धेरै छ । कर्जा भने दिर्घकालीन छन् । बैंकहरुमा अल्पकालिन निक्षेप र दीर्घकालीन कर्जाको मिसम्याच छ ।”

दिर्घकालका लागि धेरै ब्याजदर पाउने अवस्था भएकाले मुद्दतिमा पैसा राख्ने समय हो । तर, कुल निक्षेपमा यस्तो निक्षेप कति हुन्छ भन्ने कुराले जोखिम के कती हुनसक्छ भन्ने निर्धारण गर्ने समेत क्षेत्रीले बताए । यस्तो खालको निक्षेप धेरै नहुने भएकाले खासै असर नगर्ने दावी क्षेत्रीको छ ।

बैंकहरूले वित्तीय क्षेत्रलाई जोखिमलाई दाउमा राखेर योजना ल्याउन नहुने नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । “अर्थतन्त्र भन्दा वित्तीय क्षेत्र ठुलो भएको अवस्था छ,” थापाले भने,“यति ठुलो वित्तीय क्षेत्रले नाफा वा व्यवसाय बचाउने नाममा वित्तीय क्षेत्रलाई नै पर्न सक्ने जोखिमको विचार गर्नुपर्छ ।” बैंकहरू सृजनशिल भएको राम्रो तर ब्यवहारिक पनि उत्तिकै हुनुपर्छ । अहिलेको उच्च ब्याजदर रहेको अवस्थामा दीर्घकालीन निक्षेप लिदाँ तरलता वा कर्जा लगानी योग्य रकम सहज भएको अवस्थामा समेत कस्ट अफ फण्ड बढी हुन्छ । त्यसले संस्था तथा प्रणालीलाई पनि असर गर्ने जोखिम हुने उनको बुझाई छ । “यसमा केन्द्रीय बैंंकले मार्केट गाइडेन्स पनि दिनु पर्छ,” थापाले थपे,“वित्तीय क्षेत्रमा आउन सक्ने समस्याका विषयमा सबै सचेत हुनु जरुरी छ ।”

बैंक वित्तीय संस्थालाई यस्ता योजना सञ्चालनका लागि रेगुलेसनले नरोकेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “यसमा बैंकले पनि भोलिका दिन उच्च लागतका र ठुलो भुक्तानी दिनुपर्ने खालका निक्षेपको व्यवस्थापन गर्ने सन्दर्भमा बुझनु पर्यो,” केन्द्रीय बैंकका ती अधिकारीले भने,“लामो समयका लागि निक्षेप तत्काल पैसा नचाहिने व्यक्तिले मात्र राख्छ । पैसा चाहिने खालका सर्वसाधारणले भने विचार भने गर्नु पर्ने हुन्छ ।” बैंकिङ क्षेत्रलाई यस्ता योजना असर गर्छ गर्दैन भन्नेमा बैंकहरू पनि सजग हुनुपर्ने उनको भनाइ छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यदेखि सुरु भएको तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव समस्या अझै पनि सहज हुन सकेको छैन । बैंकहरुले स्रोत अभावमा कर्जा लगानी नै नगरी बसेको अवस्था पनि रह्यो । निक्षेप आकर्षण गर्न बैंकहरुले २ वर्ष देखि २० वर्ष सम्मका योजनामा निक्षेप रकमको २ गुणा देखि १०० गुणा सम्मको भुक्तानी दिने खालका प्रडक्टहरु सञ्चालन गर्न थाले ।

बैंकहरुले निक्षेप ल्याउने र कर्जा लगानी बढाउने तर्फ मात्र ध्यान दिँदा वित्तीय क्षेत्रको जोखिमलाई नजरअन्दाज गरेको देखिन्छ । व्यवसायलाई मात्र ध्यानमा राखेर बैंकहरुले ल्याएका प्रडक्टले समग्र अर्थतन्त्रमा पार्न सक्ने जोखिमको विषयमा केन्द्रीय बैंकले विशेष निगरानी राख्नु पर्ने जरुरी भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।