नेपालको दिगो अर्थतन्त्रका लागि स्वदेशी उत्पादनको वृद्धिसँगै स्रोत परिचालन जरुरी : विश्व बैंक


कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधारका लागि नेपालले स्वदेशी उत्पादनलाई बिस्तार गर्नुपर्नेमा विश्व बैंकले जोड दिएको छ । विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले उत्पादन बिस्तारसँगै स्रोत परिचालन गरी साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा आयोजना गरेको वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी बृहत अन्तरक्रिया बैठकमा उनले यस्तो बताएका हुन् ।

टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाब दिएका हुन् ।

अन्तरक्रियामा बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित थियो । नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदा विषयमा चर्चा भएको थियो । अहिले प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात घटिरहको, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन बन्दै गएको सन्दर्भमा अनपेगिङले निम्यताउने संकटका विषयमा पनि छलफल भएको थियो ।

उक्त छलफलका क्रममा विश्व बैंकका प्रमुख अर्थशास्त्री टिमरले उथलपुथलको समयमा पनि अवसरको सदुपयोग गर्ने वास्तविकतालाई मान्यता दिने खालका सुझाव दिएका हुन् ।  जीविकोपार्जनको लागि घरपरिवार लगायत समष्टिगत आर्थिकस्तर र व्यापारको स्तरमा लचिलोपन बढाउन आवश्यक रहेको उनको सुझाव थियो ।

आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने बताए । युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य बृद्धि हुँदा विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढेको उनको भनाई थियो ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउनु पर्नेमा जोड दिए । यसले तरलताको समस्या न्युनीकरण गरी बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने गोल्यानको भनाई थियो ।

दिगो आर्थिक विकास र उदीयमान संकटको सामना गर्न साना तथा मझौला व्यवसाय लक्षित कर्जा बैंक वित्तीय संस्थाबाट प्रवाह गर्नुपर्नेमा जोड दिए । भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग अनपेग गर्ने कुराले वस्तु र सेवाको मूल्य बढाउँदा उपभोक्तालाई समस्या हुने गरेको उनको भनाई थियो ।

नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको बृद्धि, सामाजिक सुरक्षा संजाल, वित्तीय घाटा लगायतका समस्याका सम्बन्धमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री म्यानेजर लाडा स्ट्रेलकोवास, विश्व बैंक नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री इकोनोमिस्ट तथा कार्यक्रम प्रमुख डा ते ह्युन ली र विश्व बैंकका अन्य अर्थशास्त्रीहरू सहभागी थिए । कार्यक्रममा ५२ जनाको सहभागिता थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।