नोटको जतन गर्न नेपाल राष्ट्र बैंकको आग्रह, कसरी गर्ने ?


नेपालीहरुको महान् पर्व बडा दशैं नजिकिँदै गर्दा नोटको प्रयोग अन्य समयमा भन्दा बढ्ने गरेको छ ।

दक्षिणा दिँदा, पूजाआजा गर्दा नोट नै प्रयोग गर्ने चलन रहेको छ । यसै सम्बन्धमा नेपाल राष्ट्र बैंकले नोटको जतन गर्न जनमानसलाई आग्रह गरेको छ ।

नोट सभ्यताको प्रतिक र हाम्रो सम्पति भएकोले बैंकले सबैलाई यसको जतनसाथ प्रयोग गर्ने राष्ट्र बैंकले जनाएको छ । नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्न र भुक्तानी गर्दा सकेसम्म विद्युतीय माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

नोटमा केरमेट गर्ने, मैला पार्ने, पानीमा डुबाउने, स्टिच हानेर नोटको आयु घटाउने काम बन्द गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । यसैगरी धार्मिक कामहरुमा नोटमा रङ, पानी, दुध र रगत नपार्ने बरु त्यसको सट्टा खाममा पैसा हालेर दिने काम गर्न राष्ट्र बैंकले सुझाएको हो ।

नोटलाई मठ–मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत नलगाई दान पेटिकामा दान गर्न वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने बानीको विकास गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

कसरी छापिन्छ नेपाली नोट ? दोहोरो भुक्तानी रोक्न जलाइन्छ

नोटको जतनका लागि नेपाल राष्ट्र बैंकले सुझाएका तरिका यस प्रकार रहेका छन्:

– पूजा गर्दा वा धार्मिक कार्य गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछुने ।
–नोटमा टाँचा वा स्टिच लगाउदा नोट च्यातिने हुँदा त्यस्तो काम नगर्ने ।
–समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्ने ।
–नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्दा नोट सड्ने डर हुने हुँदा उक्त कार्य नगर्ने ।
–नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउने ।
–नोटको कारोबार गर्दा फोहोर नगर्ने ।
– नोटमा केरमेट नगर्ने ।
–नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसाल्ने ।
–नोटको हिफाजत गर्ने कुरा आपूm पनि मनन गरी अरुलाई पनि सिकाउने ।

यसैगरी नेपाल राष्ट्र बैंकले नोटको कारोबार गर्ने क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा बुझाउन अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नोट छपाई ग्लोबल टेण्डर मार्फत हुने गरेको छ । यसो हुँदा नोट छपाईमा विदेशी कम्पनीलाई ठूलो मात्रामा विदेशी मुद्रा भुक्तानी गर्नुपर्छ ।

पछिल्लो तथ्यांक अनुसार हजारको १ थान नोट छाप्नका लागि ३.३७ रुपैयाँ, ५०० नोट छाप्नका लागि ४.६८ रुपैयाँ, १ सयको नोट छाप्न २.९९ रुपैयाँ, ५० नोट छाप्न २.६७ पैसा, २० को नोट छाप्न लागि १.७३ रुपैयाँ, १० को नोट छाप्न १.४० पैसा र ५ को नोट छाप्न १.६८ रुपैयाँ लाग्ने लागत लाग्ने गरेको छ । पछिल्लो समय १ र २ रुपैयाँको नोट छापिने गरेको छैन ।

सिक्काहरु मात्रै छापिदै आएका छन् । स्टील र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाई खर्च महंगो छ । नयाँ नोट छपाइका लागि ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाउन मदत गर्न राष्ट्र बैंकले जनमानसलाई आग्रह गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।