आइएमई अटोमोटिभ्सको वार्षिक कारोबार साढे ६२ करोड, आम्दानीको मुख्य स्रोत निमार्णका साधन बिक्री

0
Shares


आइएमई ग्रुपको संलग्नता रहेको आइएमई अटोमोटिभ्सको सन २०२२ को सञ्चालन आम्दानी ६२ करोड ६० लाख रहेको छ । यो अवधिमा कम्पनीले स्कर्ट कम्पनीका निमार्णका साधानहरु बिक्री मार्फत आम्दानी गरेको हो ।

कम्पनीको लेखापरिक्षण भएको विवरण अनुसार सन् २०२१ मा ५३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, सन् २०२२ को सञ्चालन आम्दानी भने अपरिस्कृत विवरण अनुसार तयार गरिएको कम्पनीले जनाएको छ ।

आइएमइ अटोमोटिभ्स कन्ट्रक्सन इक्वीपमेन्ट उत्पादन गर्ने कम्पनी स्कर्टको नेपालका लागि आधिकारिक बिक्रेता हो । त्यसैगरी आइएमइ हार्ली डेबिडसन, युएम मोटरसाइकल र एसएएमई ट्रयाक्टरको पनि आधिकारिक बिक्रेता रहेको छ । तर सन् २०१९ मा युएम ब्रान्ड र सन् २०२० मा हार्ली डेभिडसन ब्रान्डका मोटरसाइकलहरुको उत्पादन भारतमा बन्द भएपछि आइएमई अटोमोटिभ्सले स्कर्टका निर्माण उपकरण र एसएएमईका ट्रयाक्टरको बिक्री गर्दै आएको छ भने युएम र हार्ली डेभिडसन ब्रान्डका मोटरसाइकलको स्टक मात्र बिक्री गरेको छ । कम्पनीले यी दुइ कम्पनीको अधिकारिक बिक्रीताबाट पनि हात झिकिसकेकोे छ।

सन २०२२ सम्ममा आइएमई अटोमोटिभ्सको कर्जा ट्यान्जिबल नेटवर्थको ३.७ गुणा रहेको छ । यस अघि सन् २०२१ मा कम्पनीको कुल कर्जा ट्यान्जिबल नेटवर्थको १८.२ गुणा रहेको थियो । यसैगरी गतवर्ष सम्म कमजोर ब्याजदर कभरेज अनुपात रहेको आइएमई अटोमोटिभ्सको कर्जाको ब्याज तीर्ने क्षमतामा भने सुधार आएको देखिएको छ ।

सन २०२१ मा कम्पनीको सञ्चालन आम्दानीले ०.४ गुणा मात्र रहेकोमा २०२२ मा बढेर १.४ गुणा ब्याज भुक्तानी गर्न सक्ने अवस्थामा पुगेको छ । सञ्चालन आम्दानी वृद्धि हुँदा अर्मोटाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको सञ्चालन नाफा र सञ्चालन आम्दानीको अनुपात गत वर्षको तुलनामा ६.८ प्रतिशत विन्दुले बढेर १०.८ प्रतिशतमा कायम भएको छ ।

यसैक्रममा क्रेडिट रेटिङ एजेन्सी इक्राले कुल ७६ करोड ८० लाख ऋणका लागि आइएमई अटोमोटिभ्सलाई बी माइन्स र ए४ ग्रेडिङमा वर्गीकरण गरेको छ । कम्पनीको वित्तीय अवस्था, सबल र कमजोर पक्षहरुलाई ध्यानमा राखी इक्राले १ करोड ८० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी माइन्स रेटिङ गरेको छ भने ७५ करोडको अल्पकालीन ऋणका लागि ए४ रेटिङ गरेको छ ।

बैंकिङ क्षेत्रमा आएको तरलता कमी, कम्पनीलाई दिइएको वीथड्र शक्तिको अतिप्रयोग, कर्जा तिर्नमा भएको ढिलाइ जस्ता कारणहरुले कम्पनीको फाइनान्सीयल प्रोफाइल कमजोर बनाएको छ । यसैगरी जेसीबी, कोम्याटसु, हुण्डाई लगायतका कम्पनीहरुले निर्माण उपकरणको बिक्री सुरु गरेपछि आइएमई अटोमोटिभ्सको प्रतिस्पर्धा बढेको छ ।

यद्यपि २० औँ वर्ष देखि रेमिट्यान्स, बैकिङ, बीमा, उर्जा, टे«डिङ्ग जस्ता क्षेत्रमा अनुभव प्राप्त व्यापारिक घराना–आइएमी ग्रुप यसको प्रमोटर रहेको छ । यस कारण पनि कम्पनीको फाइनान्सीयल प्रोफाइल कमजोर हुँदा कम्पनीलाई वित्तीय सहयोग मिलिरहेको छ ।

सन् २००९मा स्थापना भएको आइएमई अटोमोटिभ्सका चारवटा प्रमोटर रहेका छन् । जसमा उषा इन्भेष्टमेन्ट प्रालिको सेयर ४३.३ प्रतिशत, आइएमई ग्रुपको ३२.५ प्रतिशत, चन्द्र प्रसाद ढकालको १५.८ प्रतिशत र सन्दिप अग्रवालको ८.४ प्रतिशत सेयर हिस्सा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।