तरलता व्यवस्थापन गर्न ३० अर्बको रिपो जारी, के होला ब्याजदर ?

0
Shares

दर्शैपछि बैंकिङ्ग प्रणालीबाट निक्षेप बाहिरिने क्रम बढेपछि नेपाल राष्ट्र बैंकले त्यसलाई सन्तुलनमा राख्न ३० अर्ब रुपैयाँ बैक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंकले रिपो मार्फत बैंक तथा वित्तीय संस्थालाई यस्तो अल्पकालीन सुविधा प्रदान गर्न लागेको हो । असोज २७ गते विहीबार बोलकबोल मार्फत उपलब्ध गराइने सो रिपोको अवधि कात्तिक ३ गतेसम्मका लागि निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले गत असोज १३ गते जारी गरेको ३० अर्बको १४ दिने रिपो परिपक्क भएकाले पनि तरलता असहज भएको हो । उक्त रिपोको अवधि आज सकिँदैछ ।

नेपाल राष्ट्र बैंकका अनुसार दशैं सकिए लगत्तै अर्थात मंगलबार मात्र बैंक वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। सोही दिन बैंक वित्तीय संस्थाको कर्जा समेत २ अर्बले घटेको छ ।

दशैं अघिसम्म बैंक वित्तीय संस्थामा निक्षेप थपिएको थियो । दशैंको सुरुवाती देखि घट्न थालेको निक्षेप दशैंपछि पनि निरन्तर घटेको हो । त्यसो त दशैं विदाको अवधिमा वाणिज्य बैंकहरुबाट मात्रै करिब ८ अर्ब निक्षेप झिकिएको छ । यो अवधिमै बैंकहरुको कर्जा पनि ४ अर्बले घटेको छ।

केन्द्रिय बैंकले बिहीबार जारी गर्न लागेको ३० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।

गत असोज १३ गते राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा वित्तीय संस्थाले ८० अर्ब १७ रुपैयाँ माग गरेका थिए । उक्त रिपोका लागि २९ वटा संस्थाले ६७ आवेदन मार्फत ८० अर्ब १७ करोड रुपैयाँ माग गरेका थिए । बैंकहरुले ब्याजदर समेत बढाएर रिपो माग गरेका हुन ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले अधिकतम ९ प्रतिशत तथा न्यूनतम ८.५० प्रतिशत ब्याजदर माग गरेका थिए । जसको औषत ब्याजदर ८.५३५८ कायम भएको थियो ।

चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले चार पटक गरेर एक खर्ब रुपैयाँ रिपो जारी गरेकोमा २ खर्ब ३ अर्ब १७ करोड बराबरको माग आएको छ । पछिल्लो चार पटकको रिपोको ब्याजदर क्रमश बढ्दै गएको छ । पहिलो पटक रिपो जारी गर्दा ८.३८१६ प्रतिशत औषत ब्याजदर कायम भएकोमा चौथो पटसम्म आइपुग्दा बढेर ८.५३५८ कायम भएको छ ।

राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ। राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था गरेको छ । हाल अन्तर बैंक कारोबार दर ८.५० प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाइ ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको राष्ट्र बैंकले रिपो जारी गर्दा बैंक वित्तीय संस्थाले तिर्नुपर्ने दर हो ।

वित्तीय प्रणालीमा तरलता कसीलो स्थीतीमा रहदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । सोही कसीलो तरलता अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने गर्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।